
सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा जिल्ला समन्वय समिति (जिसस) को निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचन सम्पन्न भएका ८ वटै जिल्लामा नेपाली कांग्रेस विजयी भएको छ ।
९ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा बाजुरामा मात्रै निर्वाचन हुन सकेको छैन । जिल्ला समन्वय समिति डोटीमा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । प्रमुखमा नेपाली कांग्रेसका लक्ष्मणबहादुर सिंह र उपप्रमुखमा कांग्रेसकै स्मृति चुनारा निर्वाचित भएका छन् ।
जिल्ला समन्वय समिति कैलालीमा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार पदमबहादुर कलेल विजयी भएका छन् भने उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खगराज भुसाल विजयी भएका छन् ।
जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । प्रमुखमा कांग्रेसका दुर्गादत्त बोहरा र उपप्रमुखमा पनि कांग्रेसकै रामकुमारी राना निर्विरोध निर्वाचित भएका छन् ।
जिल्ला समन्वय समिति डडेल्धुरामा पनि नेपाली कांग्रेसका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका गगनसिंह भण्डारी र उपप्रमुखमा कांग्रेसकै अमृता ठडालीमगर निर्विरोध निर्वाचित भएका छन् ।
बैतडीको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी विजयी भएका छन् । उपप्रमुखमा माओवादी केन्द्रका दमनबहादुर कुँवर विजयी भएका छन् । दार्चुलामा पनि गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धन दलहरूका तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका महादेव बडू र उपप्रमुखमा माओवादी केन्द्रका अमरसिंह ठगुन्ना विजयी भएका छन् ।
जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेसका उम्मेदवार ललितबहादुर कुँवर निर्वाचित भएका छन् भने उपप्रमुखमा पनि कांग्रेसकै दानमती बम शाही निर्वाचित भएका छन् ।
जिल्ला समन्वय समिति बझाङमा गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहितको गठबन्धनका उम्मेदवारको प्यानल नै निर्विरोध निर्वाचित भएको छ । समन्वय समिति प्रमुखमा कांग्रेसका नरबहादुर बोहरा र उपप्रमुखमा एकीकृत समाजवादीका कृष्णबहादुर विष्ट निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नरेन्द्र शर्माले जानकारी दिए ।