
संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेम आलेले अदालतमा रहेको मुद्दाका कारण बलिउड नायक सलमान खान नेपाल आउन नपाएको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद पार्वती डीसी चौधरीले सोधेको एक प्रश्नको जवाफमा मन्त्री आलेले अदालतको मुद्दाका कारण सलमान आउन नसकेको बताएका हुन् ।
‘सलमानको खानको विषयमा पनि प्रश्न उठ्यो । मन्त्रालयले आयोजना गरेको कार्यक्रम होइन, निजी क्षेत्रले आयोजना गरेको कार्यक्रममा मन्त्रालयसँग सहकार्य गरेकोले सहजीकरण गरेको हो,’ मन्त्री आलेले भने, ‘ विभिन्न कारण सलमान खानको मुद्दा अदालतमा विचाराधीन भएकोले उहाँहरूको कार्यक्रम डिले भएको छ ।’
मन्त्री आलेले सलमान आउने कार्यक्रममा नेपाली कलाकारलाई सहभागी गराउन आफूले आयोजकसँग आग्रह गरेको बताए ।
कांग्रेस सांसद चौधरीले सलमानको विषयमा प्रश्न उठाएकी थिइन् । ‘पर्यटन प्रवद्र्धनका लागि मन्त्रीज्यूले बलिउडका नायकलाई निम्ता दिनुभएको थियो । सामाजिक सञ्जालमा पनि ठूलो चर्चाको विषय भएको देखियो,’ विनियोजन विधयकमाथि संसदमा जवाफ दिएपछि मन्त्रीलाई पूरक प्रश्न गर्दै चौधरीले भनिन्, ‘पर्यटन प्रवद्र्धन गर्न सक्ने देशमा योग्य व्यक्ति छैनन् र बलिउडका मान्छे बोलाउनुपर्ने हो ?’
सलमान खान जेठ १४ गते नेपाल आउने तय भएको थियो । तर, अन्तिम समयमा आएर कार्यक्रम स्थगित भएको थियो ।