
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई आघात पुग्ने कुनै पनि कुराका हस्ताक्षर नगर्ने प्रतिबद्धता जनाएका छन् ।
बुधवार बिहान गठबन्धन दलका शीर्ष नेताहरूसँगको भेटमा देउवाले राष्ट्र अहितका कुनै पनि कुरामा हस्ताक्षर नगर्ने बताएको नेकपा (एस) अध्यक्ष माधव नेपालले जानकारी दिएका हुन् ।
बुधवार पार्टी बैठकमा नेपालले देउवासँगको भेटबारे जानकारी गराएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादव र आफूसँगको भेटमा देउवाले राष्ट्र अहितका कुनै पनि कुरामा हस्ताक्षर नगर्ने बताएको उनले जानकारी गराए ।
‘नेपालको आघात पुग्ने कुराका हस्ताक्षर हुने काम आफूबाट हुँदैन भनेर प्रधानमन्त्री देउवाले क्लिएर भन्नु भएको हो,’ उनले भने, ‘कसैले दबाब दिए पनि मान्नेवाला छैन भनेर हामीसँग भन्नु भएको छ ।’
अध्यक्ष नेपालले कुनै पनि देशको गतिविधिलाई ‘वाच’ गर्नुपर्ने र त्यस्ता गतिविधिप्रति स्वभाविक रुपमा चासो राख्नुपर्ने धारणा व्यक्त गरे । ‘सतर्क र सजग हुने हो, तर भ्रम फैलाउने प्रचारमा पर्नु पनि हुँदैन,’ उनले भने, ‘हाम्रो परराष्ट्र नीतिमा विचलन हुनुहुँदैन, हामी कुनै पनि हालतमा असंलग्न पराराष्ट्र नीतिलाई छाड्न सक्दैनौं ।’
अमेरिकाले प्रस्ताव गरेको भनिएको एसपीपीको देशभर विरोध भइरहेको छ ।