०८ साउन २०८३, शुक्रबार
चुनावी सुरक्षाको प्रश्न

संसदीय चुनाव एकै चरणमा गराउन आयोगले खोजेको सुरक्षा, वैशाख ३० मा के कमजोरी भएको थियो ?

असार ३, २०७९
संसदीय चुनाव एकै चरणमा गराउन आयोगले खोजेको सुरक्षा, वैशाख ३० मा के कमजोरी भएको थियो ?

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा सुरक्षाका हिसाबले कमजोरी भएको गुनासो स्वयं निर्वाचन आयोगले नै गरेको छ । 

नयाँ संविधान जारी भएपछि यसपालि दोस्रोपटक निर्वाचन भएको हो । यसअघि २०७४ सालमा पहिलोपटक तीन चरणमा स्थानीय चुनाव भएको थियो । यसपालि वैशाख ३० मा एकैपटक स्थानीय निर्वाचन भयो ।

सरकारले स्थानीय तहको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै संघीय चुनाव कात्तिक/मंसिरमा गर्ने तयारी अगाडि बढाएको छ ।

तर, निर्वाचन आयोगले भने सुरक्षा व्यवस्था स्थानीय तह निर्वाचनका बेलामा जस्तो हुने हो भने समस्या हुने भन्दै सचेत गराएको छ ।

समयमा निर्वाचन गर्न निर्वाचन आयोग प्रतिबद्ध रहेपनि सुरक्षामा सरकारले विशेष ध्यान देओस् भन्ने उसको चाहना छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया सुरक्षा कमजोरीकै कारण कतिपय ठाउँमा दोहोर्‍याएर निर्वाचन गर्नुपरेको बताउँछन् ।

‘जुन–जुन ठाउँमा पुनः निर्वाचन गर्नुपर्ने भएको छ, त्यहाँ निर्वाचन आयोगका कारणभन्दा पनि सुरक्षा कमजोरीका कारण त्यस्तो अवस्था आएको हो,’ प्रमुख आयुक्त थपलियाले लोकान्तरसँग भने ।

सुरक्षाका दृष्टिकोणले संवेदनशील देखिएका क्षेत्रमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । अन्यथा संघ र प्रदेशको चुनावमा पनि समस्या निम्तिन सक्ने चिन्ता थपलियाले व्यक्त गरे ।

निर्वाचन आयोगको तथ्यांकअनुसार बाजुराको बुढीगंगा नगरपालिकाका १० वटा मतदान केन्द्रसहित देशभरका ८२ स्थानमा सुरक्षा कमजोरीका कारण समस्या उत्पन्न भएको थियो ।

तर गृहमन्त्रालयले भने सुरक्षाका कारणले कुनै पनि ठाउँमा निर्वाचनलाई असर नपुगेको बताएको छ । 

‘सुरक्षा ल्याप्सेसले गर्दा कुनै ठाउँमा निर्वाचनमा समस्या आएको होइन,’ गृह मन्त्रालयका सह–प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, ‘गृह मन्त्रालयले सुरक्षा दिन नसकेका कारणले त्यस्तो कुनै समस्या आएको होइन ।’

निर्वाचनको समयमा हवाई फायरलगायतका सुरक्षाका उपाय अपनाउन पर्नाको कारण सामाजिक, सांस्कृतिक र राजनीतिक रहेको उनको भनाइ छ ।

त्यो बेलामा झडप भएका ठाउँहरू तत्कालै समस्या समाधान भएको र निर्वाचन पनि भइसकेकाले सुरक्षा ल्याप्सेस भएको भन्न नमिल्ने उनले बताए ।

स्थानीय तह निर्वाचनको अनुभवबाट सिकेर र यसपालि झडप भएका क्षेत्रलाई आधार बनाएर निर्वाचनलक्षित सुरक्षा योजना बनाउने तयारी गृहमन्त्रालयको छ ।

‘अहिलेको झडप भएका क्षेत्रलाई विश्लेषण गरेर आगामी निर्वाचनमा सुरक्षा योजना बनाउँदा निश्चय नै ध्यान जान्छ,’ सह–प्रवक्ता पोखरेलले लोकान्तरसँग भने ।

गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी लगायत गठबन्धनलाई जिताउनका लागि सुरक्षा निकायलाई अप्रत्यक्षरूपमा निर्देशन दिएको भन्ने आरोप लागेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले सुरक्षा निकायको दुरुपयोग गरेको आरोप लगाएका थिए । 

चितवनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत बहालवाला मन्त्रीहरू निर्वाचनको अघिल्लो दिन सुरक्षाकर्मीहरू सहित सडकमा देखिनुले पनि सुरक्षा कति फितलो थियो भन्ने देखाएको थियो ।

निवार्चनको दिन कहाँ–कहाँ भएको थियो तनाव ?

स्थानीय तहको निर्वाचनको दिन देशका विभिन्न मतदान केन्द्रमा सुरक्षाकर्मीले हवाई फायर गर्नुपरेको थियो ।

काभ्रे, रामेछाप, दोलखा, रौतहट, धनुषा, सप्तरी, गोरखा, अर्घाखाँची, डोल्पा लगायतका जिल्लामा निर्वाचनका दिन तनाव भएको थियो ।

काभ्रेको कात्तिके देउरालीमा विवाद हुँदा मतपेटिका नै फुटाइएको थियो । 

रौटहटको फतुवा विजयपुर नगरपालिका– ३ स्थित शीतलपुर मतदान केन्द्रमा २ पक्षबीच विवाद हुँदा हवाई फायर गर्नुपरेको थियो ।

मतदानस्थलमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड हवाई फायर गरेको थियो । 

धनुषाको शहीदनगर नगरपालिकामा एक दृष्टिविहीन मतदाताको इच्छाविपरीत सहायक मतदान अधिकृतले छाप लगाएको विषयमा विवाद उत्पन्न भएपछि हवाई फायर भएको थियो । 

महोत्तरीको बलवा नगरपालिकामा प्रहरीले हवाई फायर गरेको थियो । बलवा नगरपालिकाको वडा नम्बर ५ स्थित मनशिखा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा तनाव हुँदा हवाई फायर गर्नुपरेको थियो ।

बझाङको जयपृथ्वी नगरपालिका–७ को मतदान स्थलमा झडप भएको थियो ।  त्यहाँ पनि प्रहरीले दर्जनौं राउन्ड हवाई फायर गरेको थियो । 

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको एक मतदान केन्द्रमा स्थानीयले मतपेटिका फुटाएका थिए । 

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३ मा मतदानस्थल तोडफोडका कारण रणमैदान बनेको थियो ।

दोलखाको बैतेश्वर मतदानस्थल र मेलुङ गाउँपालिकाको ४ नम्बर मतदान स्थलमा झडप हुँदा प्रहरीले १३ राउन्ड हवार्ई फायर गरेको थियो । 

निर्वाचन अयोगको तथ्याङ्क अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिकाको २ नम्बर वडा, जुम्लाको गुठीचौर गाउँपालिकाको ३ नम्बर वडा, कालिकोट रास्कोट गाउँपालिकाको ४ नम्बर र पचलझरनाको ३ नम्बर वडा, बझाङको जयपृथ्वी नगरपालिकाको ७ नम्बर वडा, धनकुटाको शहीदभूमि गाउँपालिको ६ नम्बर वडा, सप्तरीको रुपनी गाउँपालिको ५ नम्बर वडासहित देशभरका ८२ ठाउँमा समस्या आएर पुनः मतदान गर्नुपरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्