
महान्यायाधिवक्ता कार्यालयले नाबालिक बलात्कारजस्तो गम्भीर प्रकृतिको अपराधमा संलग्न रहेको आरोप लागेका व्यक्तिलाई जोगाउनका लागि मुद्दा कमजोर पार्न दबाब दिएको खुलेको छ ।
महान्यायाधिवक्ता खम्मबहादुर खातीले आफ्नो सचिवालयका दुईजना सहायक जिल्ला न्यायाधिवक्तामार्फत बलात्कारको मुद्दा कमजोर बनाएर प्रतिवादीलाई जोगाउन मातहतको अधिकृतलाई पटक-पटक दबाब दिएको खुलेको हो ।
उनीहरूले दिएको दबाब नमानेर मुद्दाको सफल अभियोजन तथा बहस गरेर प्रतिवादीलाई थुनामा पठाउन भूमिका खेलेपछि ललितपुर जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत सहायक जिल्ला अधिवक्ता संगीता थोकरलाई अन्यत्र सरुवा गरिएको छ ।
नाबालिक बलात्कारका अभियुक्तलाई जोगाउन मुद्दा कमजोर नपारेको झोकमा महान्यायाधिवक्ता खातीले थोकरलाई सरुवा गरेका हुन् । थोकरलाई असार २ गते ललितपुरबाट सरुवा गरेर मुख्य न्यायाधिवक्ताको कार्यालय हेटौंडा पठाइएको छ ।

गोप्य तथा अत्यन्त जरूरी भन्दै महान्यायाधिवक्ता कार्यालयले थोकरलाई अर्को व्यवस्था नहुञ्जेल बागमती प्रदेशको मुख्य न्यायाधिवक्ता कार्यालय हेटौंडामा शाखा अधिकृतको रूपमा कामकाज गर्ने गरी तोकिएको व्यहोरासहितको पत्र पठाएको छ । अर्को आदेश वा व्यवस्था भएबमोजिम हुने, काज भत्ता नपाउने तर नियमानुसारको अन्य भत्ता पाउने तथा तलब भत्ता पदाधिकार रहेको कार्यालयबाट पाउने गरी सरुवा गरिएको पत्रमा उल्लेख छ।
१४ वर्षीया बालिका बलात्कारका अभियुक्त सुशील चटौतलाई जोगाउन महान्यायाधिवक्ता कार्यालयको पटक–पटक दिएको दबाब नमानेका कारण आफूमाथि रिसइबी साँधिएको थोकरले गुनासो गरिन् ।
पढाइदिने बहानामा घरेलु कामदार राखिएकी बालिकालाई विगत ३ वर्षदेखि निरन्तर बलात्कार गर्दै आएको आरोपमा कञ्चनपुरका सुशील चटौत जिल्ला अदालत ललितपुरको आदेशमा पूर्पक्षका लागि थुनामा छन् ।
थोकरले उक्त मुद्दाको अभियोजन गर्नुका साथै अदालतमा बहस समेत गरेकी थिइन् । महान्यायाधिवक्ताको दबाब नमानी मुद्दा अभियोजन र सशक्त बहस गरेपछि उनलाई सरुवा गरिएको हो ।
बलात्कारको मुद्दाका अभियुक्तलाई जोगाउन, मुद्दालाई कमजोर बनाउन, पीडितको बकपत्र कमजोर बनाउन पटक–पटक महान्यायाधिवक्ता कार्यालयबाट आएको दबाबलाई नमान्दा महान्यायाधिवक्ता खातीले आफ्नो सरुवा गरेको उनले बताइन् ।
महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता हरि जोशी र महान्यायाधिवक्ता खातीकी स्वकीय सचिव बिन्दुकुमारी रावल धामीले बलात्कारका आरोपित चटौतलाई जोगाउन मुद्दा नै कमजोर बनाएर अदालतमा पेश गर्न पटक-पटक दबाब दिएको उनले खुलाइन्। दबाबलाई नमानेपछि आफ्नो सरुवा गरेको उनको भनाइ छ ।
‘महान्यायाधिवक्ता कार्यालयबाट आएको पटक-पटकको दबाबविपरीत मैले मुद्दा राम्रोसँग कसेर लगेको हो । बयानको भिडियो, कल रेकर्ड आदिलाई समेत पेनड्राइभमा हालेर नलग्न भन्दाभन्दै पनि मैले लगेको हो,' थोकरले लोकान्तरसँग भनिन्, 'आरोपितलाई सजाय दिलाउन अदालतमा समेत राम्रो तरिकाले बहस गरेपछि आरोपितलाई अदालतबाट थुनामा पठाउने आदेश समेत भइसकेको छ ।'
जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरमै कार्यरत सहकर्मी ललिता श्रेष्ठमार्फत महान्यायाधिवक्ताको कार्यालयबाट दबाब आएको उनले बताइन् ।
दबाब दिने महान्ययाधिवक्ता खातीका स्वकीय सचिव धामी र प्रतिवादीको गृहजिल्ला कञ्चनपुर हुनुका साथै ललितपुरको इमाडोलमा पनि छिमेकी रहेको थोकरले बताइन् ।
आर्थिक लेनदेनको उद्देश्यले धामी र सहन्यायाधिवक्ता जोशीले मुद्दा कमजोर बनाउन निरन्तर दबाब दिँदै आएको उनको आरोप छ।
यसअघि पनि जबरजस्ती करणीकै अर्को मुद्दामा प्रतिवादी मुकेश बरालको इन्कारी बयान गराउनका लागि महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता जोशीले दबाब दिएको उनले खुलाइन् ।
ती दुवैजनाले प्रत्यक्ष दबाबभन्दा पनि ललितपुर सरकारी वकिलको कार्यालयमै कार्यरत सहायक जिल्ला न्यायाधिवक्ता ललिता श्रेष्ठमार्फत दबाब दिने गरेको उनको दाबी छ ।
श्रेष्ठ महान्यायाधिवक्ता खातीकी स्वकीय सचिव धामीको साथी हुनुका साथै एउटै ब्याचकी पनि हुन् । श्रेष्ठलाई धामीले नै ललितपुर सरकारी वकिलको कार्यालयमा सरुवा गरेर पठाएको उनले बताइन्।
'कार्यालयमा ललिता र मेरो कुर्सी पनि सँगसँगै छ। उनको मोबाइलमा कुराकानी गर्ने, भिडियो म्यासेन्जरमा पटक-पटक कुरा गरेर तिमीले संगीतालाई भनिदेऊ भनेर धामीले दबाब दिँदै आएकी थिइन्,' थोकरले लोकान्तरसँग थपिन्, 'त्यो मुद्दालाई शुरूदेखि नै कमजोर बनाउन जिल्ला न्यायाधिवक्ता सुशीला ज्ञवालीलाई पनि दबाब दिँदै आएका थिए । तर, उहाँले त्यो कुरा लुकाउनुभएको थियो ।'
कार्यालय प्रमुख ज्ञवाली आफैंले शुरूदेखि नै उक्त मुद्दा हेरे पनि अभियोग भने अदालतमा लगिनन् । त्यसपछि सबैभन्दा जुनियर अफिसर युडेन लामालाई फाइल हेर्न जिम्मेवारी तोकेकी थिइन् ।
युडेनलाई तोके पनि उनले गर्न सक्दिनन्, तिमीले सघाइदिनू भनेर कार्यालय प्रमुख ज्ञवाली स्थानीय निर्वाचनमा खटिएको थोकरले बताइन् । त्यसपछि थोकर उक्त मुद्दाको अभियोजन गर्ने कार्यमा जोडिएकी थिइन् ।
'कार्यालय प्रमुखले हेरिरहेको मुद्दा उहाँ आफैंले नहेर्ने अवस्था आउँदा कार्यालयको दोस्रो सिनियर व्यक्ति ललिता श्रेष्ठले हेर्नुपर्ने हो। तर मलाई दबाब आएको छ । माथिबाट बिन्दुको फोन आएकोआयै छ । जोशी सरको फोन आएकोआयै छ, म हेर्दिनँ, संगीता तपाईं नै हेर्नुस् है भन्दै उहाँ पन्छिनुभयो,' उनले भनिन्, 'अहिले आएर ललिताले पनि ढाँटिरहेको छ, किनभने उसलाई पनि सरुवा हुने डर छ । तर मलाई त डर छैन ।'
कार्यालय प्रमुख सुशीला ज्ञवाली, सहायक जिल्ला न्यायाधिवक्ता ललिता श्रेष्ठसम्मलाई महान्यायाधिवक्ता कार्यालयको सचिवालयमा कार्यरत सहायक जिल्ला न्यायाधिवक्ता हरि जोशी र स्वकीय सचिव धामीले पटक–पटक दबाब दिने गरेको कुरा अहिले उनीहरूले लुकाइरहेको उनले बताइन् ।
'उहाँहरूलाई पनि म जस्तै अन्यत्र सरुवा गरिदिने डरका कारण अहिले कुरा फेरिरहनुभएको छ,' थोकरले भनिन्, 'तर म डराउदिनँ, व्यावसायिक एथिक्स पालना गर्दा जे फेस गर्नुपर्छ सबै फेस गर्छु। '
वैशाख ९ गते नै अनुसन्धान अधिकारीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाएका थिए ।
'त्यसदिन कार्यालय प्रमुख सुशीला ज्ञवाली पनि कार्यालयमा उपस्थित हुनुहुन्थ्यो । ज्ञवाली आफैंले लगाउनुपर्ने अभियोग नलगाएर युडेन लामालाई तोकेर जानुभयो,' थोकरले थपिन् ।
अन्त्यमा आफूले सबै प्रमाण जुटाएर वैशाख ११ गते मुद्दा अभियोजन गरेको उनले बताइन्।
अनुसन्धान अधिकारीले पनि अनुसन्धान प्रतिवेदन बुझाउँदा अत्यन्त फितलो गरी बुझाएको उनले खुलाइन् ।
'पुलिसको राय पनि फितलो नै आएको थियो। जस्तो राय आएको छ त्यस्तै लाने, पेन ड्राइभ, भिडियो नलाने, मुद्दालाई कमजोर बनाउने भनेर महान्यायाधिवक्ता कार्यालयबाट दबाब आएको थियो,' थोकरले लोकान्तरसँग भनिन्, ' बकपत्रमा पनि धेरै प्रश्न नगरिदिने, थोरै–थोरै मात्र प्रश्न गरेर बकपत्र सहजीकरण गरिदिएर जसरी हुन्छ फाइल कमजोर बनाउने भनेर उहाँहरूले दबाब दिनुभएको थियो।'
पीडितको बकपत्रमा पनि होस्टाइल गराउन पहिलेदेखि नै प्रतिवादीको परिवारले पीडितको आमा र बुवालाई प्रयोग गरेको उनले बताइन् ।
'त्यो कुरालाई नमानिकन मैले झन् पीडितको पक्षमा मुद्दा कसेर लग्नुका साथै बहस पनि राम्रो गरेको हुनाले अदालतले पनि प्रतिवादीलाई थुनामा पठाएको थियो,' उनले थपिन्, 'महान्यायाधिवक्ता कार्यालयको उद्देश्य भने बलात्कारका आरोपित चटौतलाई जसरी पनि धरौटीमा छुटाउने थियो । त्यो नहुँदा मलाई महान्यायाधिवक्ताको कार्यालयले टार्गेट बनाएको थियो । रिसइबी साँध्न सरुवा गरेको हो ।'
ललितपुरको महेन्द्र आदर्श माविमा पढ्ने बालिकालाई व्यापारी चटौतले तीन वर्षदेखि जबरजस्तीकरणी गरेको आरोप लागेको छ। प्रतिवादी चटौत अहिले ललितपुर जिल्ला अदालतको आदेशले कारागारमा थुनामा छन् । उक्त मुद्दाको फैसला हुन बाँकी छ। प्रतिवादीले पीडितलाई दिएको विभिन्न प्रलोभनसहितको कल रेकर्ड आफूसँग सुरक्षित रहेको थोकरले बताइन्।
'अदालतमा त्यो कल रेकर्डलाई मैले प्रतिवादीविरुद्ध ठोस प्रमाणकारूपमा पेश गर्न सक्छु भन्ने सोचेर उनीहरूले मलाई सरुवा गरेको हो,' थोकरले लोकान्तरसँग भनिन्।
यस विषयमा प्रतिक्रिया माग्दा महान्ययाधिवक्ता खातीकी स्वकीय सचिव बिन्दुकुमारी रावल धामीले ललिता श्रेष्ठ र जिल्ला न्यायाधिवक्ता सुशीला ज्ञवालीसँग मुद्दाको सन्दर्भमा कुराकानी गरेको स्वीकार गरिन् । बलात्कारका आरोपित चटौतलाई जोगाउन भन्दा पनि मुद्दाको अनुसन्धान राम्रोसँग गरेर प्रतिवादीलाई सजाय होस् भन्ने कुरा आफूले भनेको उनको जिकिर छ ।
'महान्यायाधिवक्ताको स्वकीय सचिव भएको नाताले मैले चासो राखेको हो,' धामीले लोकान्तरसँग भनिन्, 'बलात्कारजस्तो गम्भीर मुद्दामा के कस्तो अनुसन्धान भइरहेको छ भन्ने कुराको चासो राख्नु माहान्याधिवाक्ता कार्यालयको अधिकारकै कुरा भएका कारण मुद्दाको स्थिति बुझ्न मात्र फोन गरेको हो। दबाब दिन फोन गरेको हैन ।'
त्यसैगरी सरकारी वकिलको कार्यलय ललितपुरमा कार्यरत सहायक जिल्ला न्यायाधिवक्ता ललिता श्रेष्ठले पनि धामीले फोन र म्यासेन्जरमा कुराकानी गरेको स्वीकार गरेकी छन्।
'धामी मेरो सहकर्मी साथी पनि हो । एउटै ब्याचमा हामी अफिसर भएका हौं, त्यसैले जुनसुकै विषयमा पनि कुराकानी भइरहेको हुन्छ,' उनले लोकान्तरसँग भनिन्, 'नियमितजसो कुराकानी भइरहेको हुन्छ । चटौत प्रतिवादी रहेको केसमा धामीले अनुसन्धान राम्रोसँग गर्नू भनेर फोन गरेको हो ।' संगीताले भनेजस्तो दबाब नआएको उनको भनाइ छ ।
महान्यायाधिवक्ता कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता हरि जोशीसँग यस विषयमा प्रतिक्रिया लिन पटक–पटक फोन गर्दा पनि उनी सम्पर्कमा आएनन् ।