०७ साउन २०८३, बिहीबार
ओलीको बोली

एसपीपी कसरी अगाडि बढेको थियो ? केपी ओलीले दिए स्पष्टीकरण

एसपीपी कसरी अगाडि बढेको थियो ? केपी ओलीले दिए स्पष्टीकरण

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) आफ्नो पालामा शुरू नभएको स्पष्ट गरेका छन् । 

ओलीको पालामा एसपीपी शुरु भएको भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइप्रति आपत्ति जनाए । 

शुक्रवार काठमाडौंमा स्थानीय तहका जनप्रतिनिधिलाई सम्बोधन गर्दै ओलीले आफ्नो पालामा एसपीपी प्रोगाम ल्याएको भनेर भ्रम सिर्जना गरिएको दाबी गरेका हुन् । ‘२०७२ असोज ६ गते अर्थात संविधान जारी भएको तीन दिनपछि रक्षामन्त्रीको हैसियतले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले निर्णय गर्नुभएछ । एसपीपीमा नेपाल पनि पक्ष हुन पाओस् भनेर अमेरिकालाई आग्रह गर्न सेनालाई भनेर निर्णय गर्नुभएको रहेछ,’ ओलीले भने । 

सुशील कोइरालाले रक्षामन्त्रीको हैसियतमा गरेको निर्णयअनुसार सेनाले पत्राचार गरेको ओलीले दाबी गरे । ‘मन्त्रीस्तरको निर्णय असोज १३ गते सैनिक हेडक्वार्टरमा पठाएको रहेछ । सैनिक हेडक्वार्टरले सोहीअनुसार पत्राचार गरेको रहेछ । हामीलाई कतै बताइएन,’ ओलीले भने, ‘ असोज २४ गते म प्रधानमन्त्री निर्वाचित भएँ । कात्तिक १० गते राजेन्द्र क्षेत्रीले अमेरिकी एम्बेसीलाई पत्र लेखेका रहेछन् । मन्त्रीस्तरबाट यो निर्णय गरेको भनेर ।’

पूर्वप्रधानमन्त्री ओलीले अमेरिकी दूतावासलाई पत्र लेख्ने काम प्रधानसेनापतिको नभई रक्षा मन्त्रालय या परराष्ट्र मन्त्रालयको हुने बताए । ‘प्रधानसेनापतिले पत्र लेख्दैन, रक्षा मन्त्रालयको काम हो, परराष्ट्रको काम हो । प्रधानसेनापति आफूले लेखेको रहेछ । त्यो कुरा बताइएन, गुपचुप राखियो, पछि प्रचण्डजी प्रधानमन्त्री बनेपछि २०७४ वैशाख २४ गते राजेन्द्र क्षेत्रीले प्यासेफिक कमाण्डलाई पत्र लेख्नु भएको रहेछ, पहिलेको कुरा त्यत्तिकै सेलायो भनेर निवदन लेख्नु भएको रहेछ,’ ओलीले भने । 

ओलीले २०७४ सालमा फेरि सरकारमा आएपछि इण्डो प्यासेफिक रणनीतिबारे चर्चा भएपछि आफूहरूले विरोध गरेको बताए । ‘भ्रम फिँजाउनका लागि प्रचण्डले यो केपी ओलीको नेतृत्वमा भएको हो भनेर भनेछन् । कमरेडहरू भ्रममा नपर्नुहोला केपी ओलीको नेतृत्वमा अस्वीकार गर्ने काम भएको हो ।’ 

salt training

कमेन्ट गर्नुहोस्