२५ जेठ २०८३, सोमबार

बेनीकोतको पुनर्निर्माण पूरा

बेनीकोतको पुनर्निर्माण पूरा

म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक कोतघरको पुनर्निर्माण भएको छ । 

बाइसेचौबिसे मल्ल राजाको पालामा तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा सोह्रौं शताब्दीमा निर्माण भएको कोतघर जीर्ण बनेको थियो । बेनी नगरपालिका र विभिन्न दाताको सहयोगमा कोतघर पुनर्निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष अनोद श्रेष्ठले बताए ।

पुनर्निर्माणका लागि नगरपालिकाले चालू आर्थिक वर्ष २०७८/७९ मा ८ लाख रुपैयाँ विनियोजन गरेको थियो । नगरपालिकाको अनुदानको अतिरिक्त कोतघरमा केही सामग्री दाताले पनि सहयोग गरेका छन् ।

‘छानो चुहिने, भूइँमा पानी जम्ने र पर्खाल चिरा पर्न थालेको थियो,’ उनले भने, ‘पुरानो स्वरूप कायम रहने गरी संरचना बनाएका छौं ।’

गत फागुनको तेस्रो हप्तादेखि कोतघरको पुरानो छाना र पर्खाल भत्काएर नयाँ निर्माण थालिएको थियो । 

छानोमा ३ वटा गजुर राखिएको कोतघरको झ्याल, ढोका र टुडाल कलात्मक शैलीका छन् । भक्तपुरबाट इँटा, काठ र मजदुर ल्याएर कोतघर बनाएको उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले बताए ।

कोतघर वरपर घुम्न मिल्ने र बत्ती बाल्ने ठाउँ बनाइएको छ । 

विक्रम संवत् १६३१ सालदेखि नेपाल एकीकरण नहुँदासम्म ३४२ वर्षसम्म तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनी थियो । तत्कालीन पर्वत राज्यका राजा हिउँदमा बेनी र गर्मीयाममा ढोलथानमा बसेर राज्य सञ्चालन गरेका थिए ।  ऐतिहासिक महत्वका तोप, खुकुरी, तरबारलगायतका हतियार भएको कोतघर परिसरमा तत्कालीन राज्य सञ्चालकले धातुका सिक्का बनाउने टक्सार बनाएका थिए । पौराणिक महत्त्व, मौलिकता र इतिहास ननासिने गरेर कोतघर पुनर्निर्माण भएको बेनी नगरपालिका–८ का निवर्तमान वडाध्यक्ष रामकृष्ण बराइलीले बताए ।

‘ऐतिहासिक कोतघरलाई पर्यटकीयस्थलको रूपमा विकास गर्न व्यवस्थापन र संरक्षण गरिएको हो,’ उनले भने, ‘५ लाख रुपैयाँ बजेटबाट पहिलो चरणमा कोतघर परिसरको सार्वजनिक जग्गालाई व्यवस्थित र संरक्षण गर्न पूर्वाधार निर्माण भएको छ ।’ 

सार्वजनिक जग्गामा घेराबार, पर्खाल, रेलिङ निर्माण र भूइँमा पेभर इटा राखेर आकर्षक बनाइएको छ । यसअघि उपयोगविहीन रहेको सो जग्गामा बालबालिका खेल्न र ज्येष्ठ नागरिकलाई टहलिन मिल्ने गरी पूर्वाधार बनाइएको छ । साँघुरो ठाउँ र सडक भएको बेनीमा भेला, बैठक, सभा सञ्चालनका लागि पनि सो जग्गा उपयोगी भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्