०६ साउन २०८३, बुधबार

कस्तो छ बद्री पंगेनीको नयाँ गीत ‘चप्पल छिनियो’ ? [भिडियो]

कस्तो छ बद्री पंगेनीको नयाँ गीत ‘चप्पल छिनियो’ ? [भिडियो]

लोक गायक बद्री पंगेनीले नयाँ गीत सार्वजनिक गरेका छन्- चप्पल छिनियो ।

शुक्रवार राति सार्वजनिक यस लोकदोहोरी गीतमा बद्रीसँगै पूर्णकला बिसी र मोहन खड्काले स्वर दिएका छन् ।

यो बद्रीको १० महिनाको अन्तरमा आएको अफिसियल गीत हो । जीवन सिग्देलको शब्द रहेको गीतमा गायक तिलक वलीको संगीत तथा एरेन्ज छ । गायक बद्रीकै कन्सेप्ट तथा निर्देशनमा गीतको भिडियो तयार पारिएको हो । निर्देशकीय हिसाबले उनको यो दोस्रो गीत हो । 

यस्तो छ भिडियो कन्सेप्ट

गाउँमा साँझ नाँचगान कार्यक्रम हुनेवाला छ । त्यसका लागि शहरबाट केही कलाकारहरू आउँदैछन् । कलाकारका रुपमा भिडियोमा गायक पंगेनीसँगै मोहन खड्का, विमल अधिकारीलगायत प्रस्तुत छन् । 

कार्यक्रम हुने गाउँसम्म मोटरबाटो त पुगेको छ, तर गाडी चल्दैन । त्यसैले उनीहरू उर्लिएर बगेको खोलो तरेर गाउँसम्म आउँदैछन् । जुत्ता, चप्पल हातमा लिएर एक अर्काको हात समात्दै उनीहरू खोला पार गर्छन् । 

‘ओए केटा हो ! हाम्रो घुँडाघुँडा आउँदा बद्री दाइलाई डुबाउँदो रहेछ,’ मोडल विमल ठट्टा गर्छन् ।

‘ए मोहन लड्लास है !’ बद्रीले यति भन्न नपाउँदै मोहन लड्न पुग्छन् । 

बद्री मुसुक्क हाँस्दै भन्छन्- ए, लडिपो सकेको ! 

खोला तरिसकेपछि बद्री चप्पल लगाएर के हिँडन खोज्दै थिए, उनको चप्पल चुडिन्छ । कलाकारहरुको समूह उकालो बाटोमा सकिनसरी लौरो टेक्दै गाउँतर्फ लाग्छन् । 

०००

गाउँमा एक किशोरी छिन्, शान्ता अर्थात् अञ्जली अधिकारी । जो नाचगान भनेपछि हुरुक्कै हुन्छिन् । आज पनि साँझ गाउँमा नाचगान हुने खबरले उनको खुट्टा ठाउँमा छैन ।

कक्षाकोठामा रहेकी उनलाई अब बहाना चाहिएको छ, यहाँबाट कसरी फुत्किने ? पेट दुःखेको बहाना बनाउँदै कक्षाकोठाबाट फुत्किन्छिन् । उनी कक्षाकोठाबाट निस्किएपछि साथीहरू पनि एकपछि अर्को बहाना बनाएर निस्किन्छन् । तर, नाचगान हुने ठाउँ पुग्न उकालो केही हिँड्नुपर्नेछ । दौडिँदै गाउँतर्फ जाँदै गर्दा अञ्जलीको पनि चप्पल छिनिन्छ । 

अनि शुरू हुन्छ रमाइलो दोहोरी । गायक पंगेनीले भिडियोलाई रमाइलो बनाउने प्रयास गरेका छन् ।

भिडियोको कोरियोग्राफी भने नरेश वीर सिंहले गरेका हुन्, जो भिडियोमा समेत प्रस्तुत छन् । गीत र भिडियो दुवै मौलिक लाग्छ ।

कतिपय दर्शकले आफूलाई गीतले बाल्यकाल, विद्यार्थी जीवन र गाउँघरको माहोल सम्झाएको उल्लेख गरेका छन् ।

गायक पंगेनी पनि दर्शक प्रतिक्रियाले खुशी छन् । ‘सार्वजनिक भएको २४ घण्टा पनि भएको छैन । झण्डै ७० हजार भ्युज पाएको छ,’ गीतको प्रारम्भिक प्रतिक्रियाबारे पंगेनीले लोकान्तरसँग भने, ‘प्रतिक्रिया पनि सबैले राम्रो दिनुभएको छ ।’

तनहुँको गाउँमा  दुर्गा पौडलद्वारा छायाकन भएको भिडियो विकास ज्ञवालीको सम्पादनपछि सार्वजनिक भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्