२५ जेठ २०८३, सोमबार

देश जोगाउने जिम्मेवारी इमान्दार कम्युनिस्टहरूको काँधमा आयो : माधव नेपाल

देश जोगाउने जिम्मेवारी इमान्दार कम्युनिस्टहरूको काँधमा आयो : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशभक्ति, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानका विषयमा बोल्न प्रत्येक नागरिकलाई आह्वान गरेका छन् । 

पार्टी पोलिटब्युरोको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशभक्ति, स्वाभिमान र राष्ट्रिय स्वतन्त्रताका सन्दर्भमा नागरिकहरू चनाखो हुनुपर्ने बताएका हुन् ।

अध्यक्ष नेपालले इन्डो प्यासिफिक रणनीति (आईपीएस), स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र एमसीसी एमाले नेताहरूको योजनामा आएको बताउँदै एमसिसी पारित गर्दा आफूहरूले १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई सम्झौताको अभिन्न अंग बनाउन बाध्य पारेर देशलाई विदेशी सामु समर्पण गर्ने अवस्थाबाट जोगाएको दाबी गरे । 

संविधानलाई कुल्चिने, दक्षिणपन्थी र विदेशीहरूसँग साँठगाँठ गर्ने ओलीको अभिमानलाई आफूहरूले नै रोकेको भन्दै उनले आफुहरूकै दबावमा चुच्चे नक्सा प्रकाशन भएको दाबी गरे  । 

देश जोगाउने जिम्मेवारी इमान्दार कम्युनिष्टहरूको काँधमा आएकाले अब यसको नेतृत्व हाम्रो पार्टीले गर्ने भन्दै अध्यक्ष नेपालले एकीकृत कम्युनिष्ट पार्टी निर्माणमा लागि पर्ने बताए ।

आफूहरूले नै विद्रोह गरेर संविधान र संघीयताको रक्षा गरेको भन्दै देशलाई अस्थिरताबाट जोगाएको उनको भनाइ थियो । 

विश्वमा देखिएका जलवायु परिवर्तन, खाद्य संकट र आर्थिक संकटका विषयमा समेत छलफल हुनुपर्ने समेत उनको धारणा थियो । 

स्थानीय तहको निर्वाचनमा गठबन्धनकै भरमा महानगर, उपमहानगर जिते पनि प्रदेश र जिल्लामा सहकार्य हुन नसक्दा अपेक्षित परिणाम हासिल हुन नसकेकाले गठबन्धनका विषयमा मसिनो ढंगले समिक्षा गर्नुपर्ने भन्दै यसका लागि अहिलेदेखि नै वार्ता शुरू गर्नुपर्ने बताए । 

कांग्रेस र माओवादीबीचको गठबन्धन अपेक्षाकृत फलदायी हुन नसकेकाले गठबन्धनमा तेस्रो धारका विषयमा समेत छलफल गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ थियो ।

बैठकमा पोलिटब्युरो सदस्यहरूले आ–आफ्नो धारणा राखे । 

बैठकमा पारित प्रतिवेदन केन्द्रीय कमिटी र केन्द्रीय परिषद बैठकमा प्रस्तुत हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । 

केन्द्रीय कमिटीको दोस्रो बैठक असार ११ गते कार्की ब्याङ्क्वेटमा बबरमहल र केन्द्रीय परिषद् बैठक असार १३ र १४ गते प्रज्ञा भवन कमलादीमा हुने प्रमुख खतिवडाले बताए । 

परिषदको बैठकको उद्घाटन अध्यक्ष नेपालले गर्ने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्