
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षमा २९ वटा हरियाली पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाको पहिलो नगरसभामा आज नीति तथा बजेट सार्वजनिक गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक जग्गाको संरक्षण गर्दै हरियाली पार्क निर्माण गर्ने कामलाई निरन्तरता दिन लागिएको बताए ।
फोहर व्यवस्थापन गर्दै शहरलाई सफा र सुन्दर बनाउन बालकुमारीस्थित अस्थायी ट्रान्सफर स्टेशन आधुनिकीकरण गर्ने, फोहर स्रोतमा नै वर्गीकरण गर्ने, फोहर सङ्कलनमा संलग्न हुने व्यवसायीलाई दर्ता गरी अनुगमन गर्ने महानगरको कार्यक्रममा उल्लेख छ ।
नगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले निर्धारित समयमा नै नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुँदा समयको चाप भएको बताइन् । आगामी आवमा महानगरले जनमुखी र परिवर्तनमुखी कार्यक्रम समावेश गरेको उनको भनाइ छ ।
महानगरले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आगामी आवका लागि रु छ अर्ब ३५ करोड ३५ लाख तीन हजारको बजेट व्यवस्थापन गरेको छ ।