
भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषणलाई कम गर्न डिजेलबाट चल्ने सवारीसाधनमाथि रोक लगाइएको छ ।
दिल्ली सरकारले आगामी अक्टुबरदेखि फेब्रुअरीसम्म डिजेलबाट चल्ने साधनमा रोक लगाउने निर्णय गरेको छ ।
सरकारको निर्णयमा ढुवानी व्यवसायीले भने आपत्ति जनाएका छन् । दिल्ली गुड्स ट्रान्सपोर्ट अर्गनाइजेसनका अध्यक्ष राजेन्द्र कपूरले दिल्लीबाट दैनिक डेढ लाख डिजलबाट चल्ने साधन विभिन्न राज्यमा जाने गरेका बताए । यी ढुवानीका साधन बन्द गरिए कारोबार प्रभावित हुने व्यवसायीको दाबी छ । यससँगै ढुवानीसँग जोडिएका मजदुरको रोजगारी समेत खोसिने जनाइएको छ ।
व्यवसायीले प्रदूषणको कारण डिजलबाट चल्ने साधन मात्रै नभएका दाबी गरेका छन् । प्रदूषणको मुख्य कारण निर्माण कार्य र उद्योगधन्दा भए पनि यसमा सरकारले ध्यान नदिएको ढुवानी व्यवसायीको गुनासो छ ।