
सभामुख अग्निप्रसाद सापकोटाले जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन आफ्नातर्फबाट निरन्तर प्रयास भइरहेको बताएका छन् ।
सभामुखमा निर्वाचित भएदेखि नै आफू त्यसखालको प्रयासमा लागेको भए पनि केही समय अघिसम्म संसद् अवरोध हुँदा त्यसलाई गतिशील बनाउन नसकिएको उनको भनाइ थियो ।
संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास–पहिलो संसददेखि संघीय संसद्सम्म’ पुस्तक आज सार्वजनिक गर्दै सभामुख सापकोटाले संघीय संसद् र मातहतका समितिमा जनचासोका विषयमा बढी छलफल होओस् र राष्ट्रका लागि आवश्यक कानून निर्माणमा बढी तदारुकता आओस् भन्ने पक्षमा आफू रहेको बताए ।
महत्त्वपूर्ण विधेयक शीघ्र पारित गरेर संघीयता कार्यान्वयनका लागि आफूले सबै समितिलाई आग्रह गरेको र केही विधेयक अगाडि बढाउन सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराइएको समेत उनले जानकारी गराए ।
लामो समयदेखि अड्केको नागरिकता विधेयकले निकास नपाउँदा हजारौँ युवाले नागरिकता पाउन नसकेको भन्दै सभामुख सापकोटाले त्यसलाई अगाडि बढाउन आफूले प्रधानमन्त्री र कानूनमन्त्रीलाई समेत आग्रह गरेको बताए ।