
सहज भनेर पनि चिनेने नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी) र आईडिया स्टुडियो नेपालको सहकार्यमा ‘सहज च्यालेन्ज फण्ड - दोश्रो चरण ’ का लागि आवेदन खुल्ला गरिएको छ ।
असार ९ गते विराटनगरमा पत्रकार सम्मेलन गरी सो कार्यक्रम घोषणा गरिएको हो ।
पत्रकार सम्मेलनमा कृषि मन्त्रालय प्रदेश १ का सचिव मेगनाथ तिमलसिना, पशुपन्छी तथा मत्स्य विकाश निर्देशानलयका प्रमुख डा. पशुपति ढुंगाना, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राज कुमार रिजाल, मोरङ व्यापारिक संघका नवनिर्वाचित अध्यक्ष नविन रिजाल, कृषि बजार विकास कार्यक्रमका टिम लिडर रिक भेन डर क्याम्प, व्यवसाय सक्षम वातावरण र संघीय राज्य भवनका प्रबन्धक विष्णुप्रसाद काफ्ले, कृषि सेवा कृषि सेवा व्यवस्थापककी प्रबन्धक सुभेच्छा श्रेष्ठ, कृषि सेवा दीर्घकालिन परामर्शदाताका उत्कर्ष प्रसाद,आईडीया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामालगायत ५० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो |
दुग्धजन्य उत्पादनमा नवीनतम सोच भएका स्टार्टअप, साना तथा मझौला उद्यमी र स्थापित सस्थाहरूले यसमा आवेदन दिन सक्ने छन् ।
आवेदकहरूले प्रदेश नम्बर १ मा दुग्धजन्य उद्योग क्षेत्रमा पहिचान भएका दुग्धजन्य उत्पादन विविधिकरणसँग सम्बन्धित चुनौतिहरु लाई सम्बोधन गर्ने समाधान प्रस्तुत गर्नुपर्नेछ । आवेदन मिति २०७९ श्रावण ६ गते सम्म दिन सकिनेछ |
आवेदकहरूको नवीनतम सोच दुग्धजन्य उत्पादन सम्बद्ध नवप्रवर्तनात्मक, समाधानमुखी र व्यवसायिक सम्भाव्यता भएको हुनु पर्नेछ |
सहज च्यालेन्ज फण्ड को दोस्रो चरणको कुल बजेट २ करोड नेपाली रुपैयाँको हुनेछ ।
यस फण्ड अन्तर्गत निजि व्यवसाय तथा उद्यमीहरुले न्यूनतम ५ लाख देखि ५० लाख नेपाली रुपैया सम्म प्राप्त गर्नेछन् । यसरी छनौट गरिएका आवेदकले नगद राशीसँगै व्यवसाय अगाडी बढाउन एक वर्षसम्मका लागि विभिन्न किसिमका प्राविधिक सहयोग पनि पाउन सक्नेछन् ।