
तनहुँको आँबुखैरेनी गाउँपालिकाले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने भएको छ ।
आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन भइरहेको स्वास्थ्य चौकीको सेवा विस्तार गरी आगामी आर्थिक वर्ष ०७९/८० देखि १५ शय्याको अस्पताल सञ्चालन गर्न लागिएको हो ।
स्वास्थ्य चौकीलाई विस्तार गरी मेडिकल अधिकृत सहितको अस्पताल सञ्चालन गर्नका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । अस्पतालमा आकस्मिक, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसीजी र फार्मेसी लगायतका सेवा प्रदान गरिनेछ ।
हाल स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर लगायतका सेवा प्रवाह भइरहेको छ । गाउँपालिकावासीलाई सहज र सरल रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याउन लागिएको चुमानले बताए ।
गाउँपालिकामा अस्पताल नहुँदा सर्वसाधारण चितवन, दमौली, पोखरा लगायतका ठाउँमा उपचार गर्न जानुपर्ने बाध्यता छ ।
गाउँपालिकाले ७० वर्षभन्दा माथिको ज्येष्ठ नागरिक र सुत्केरी हुँदा गर्भवतीलाई गाउँपालिकाको अस्पतालबाट निःशुल्क सेवा दिइनेछ । ‘अस्पताल सञ्चालन भएपछि सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ, ज्येष्ठ नागरिक र गर्भवतीलाई निःशुल्क सेवा दिन्छौं,’ उनले भने ।
गाउँपालिकाले एक वडाः एक स्वास्थ्य चौकीको निर्माण कार्य सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढाउनेछ । यसका लागि संघ तथा प्रदेश सरकारसँग समन्वय र सहकार्य गरिने अध्यक्ष चुमानले बताए । गाउँपालिकाले क्यान्सर बिरामीलाई एक पटकका लागि ५० हजार रुपैयाँ नगद सहयोग गर्ने नीति पारित गरेको छ ।
गाउँपालिकाले निजी, विभिन्न समूह र संघसंस्थाको सहयोगमा बृहत् उपचार तथा कोषको स्थापना गरिने उनले बताए । ‘निश्चित कार्यविधि बनाई जटिल रोगको उपचार तथा विपद् तथा जोखिममा परेका पालिकाभित्रका व्यवसायी, व्यापारी तथा नागरिकको उद्धार तथा राहत कार्य अगाडि बढाउँछौं,’ उनले भने ।
सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरी विपन्न परिवारमा पोषिलो खानाको व्यवस्था मिलाउने गाउँपालिकाले जनाएको छ । ग्रामीण भेगका वडामा टेलिमेडिसिन विधिबाट विशेषज्ञ सेवा विस्तार गरिने अध्यक्ष चुमानले जानकारी दिए ।
६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको मोबाइल एप्लिकेशन बनाई तथ्यांक राखिने जनाइएको छ । घुम्ती शिविरको माध्यमबाट प्रत्येक महिना एकचोटी गाउँ टोलमा नै गई आधारभूत स्वास्थ्य जाँचको रिपोर्ट कार्ड बनाइने जनाइएको छ ।