
फूटबलका सबभन्दा महंगा खेलाडी नेयमारले पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लब छोड्ने सम्भावना रहेको फ्रान्सेली पत्रिकाहरूले खबर दिएका छन् ।
पीएसजीले बार्सिलोनासँग २३ करोड ४० लाख रुपैयाँ तिरेर सन् २०१७ मा नेयमारलाई किनेको थियो ।
नेयमारले पीएसजीसँग सन् २०२७ सम्मका लागि सम्झौता गरेको भए पनि अर्को सीजनबाट नयाँ क्लब जान खोजेको आरएमसी स्पोर्ट पत्रिकाले लेखेको छ ।
उनी क्लबमा खुशी छैनन् । क्लबका अध्यक्ष नासेर अल–खेलाफीले आफूप्रति नकारात्मक टिप्पणी गरेकोमा नेयमारको गुनासो छ ।
पीएसजी च्याम्पियन्स लीगबाट छिट्टै बाहिरिएपछि अध्यक्षले खेलाडीहरूको व्यवहारमा परिवर्तन आउनुपर्ने बताएका छन् ।
नेयमारले क्लब छोड्न सक्ने विषयमा प्रश्न सोध्दा अल–खेलाफीले त्यसलाई पुष्टि गरेनन् तर क्लबमा जवान, प्रतिभाशाली, विजेता मानसिकता भएका र क्लबका लागि मरिहत्ते गर्ने खेलाडी चाहिएको बताएका थिए ।
अध्यक्षले नेयमारको नाम नलिएको भए पनि त्यो टिप्पणी आफूप्रति नै लक्षित रहेको नेयमारको बुझाइ छ ।
अझ सुपरस्टार किलियन एम्बाप्पेले सन् २०२५ सम्मका लागि टीमसँग अनुबन्ध गरेपछि नेयमारलाई क्लबमा बस्न दिक्क लागेको बताइन्छ ।
तर नेयमार जस्ता महंगा खेलाडीलाई कसले किन्ला भन्न सकिन्न ।