११ साउन २०८३, सोमबार

विष्णु पौडेलले भने- नेताहरू विमानस्थल आउँदा खादामाला र गाडीको लावालस्कर नलैजानुस्

विष्णु  पौडेलले भने- नेताहरू विमानस्थल आउँदा खादामाला र गाडीको लावालस्कर नलैजानुस्

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीका लावालस्कर नलैजान नेता कार्यकताहरूलाई आग्रह गरेका छन् । 

जीवनमा सरलताको छुट्टै महत्त्व हुने बताउँदै नेता आफ्ना जिल्ला र निर्वाचन क्षेत्रमा आउँदा अनावश्यक सम्मान आवश्यक नहुने बताए । 

मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेपाल, रूपन्देहीले सोमवार बुटवलमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता पौडेलले सरल जिन्दगी आनन्दपूर्ण हुने उल्लेख गरे । 

‘कुनै ठूलो उपाधि ओलम्पियन जितेर आएकालाई सम्मान गर्नुस्, नेता काठमाडौंमा जिल्लामा आउँदा गाडी छैन भने, बरु एउटा गाडी पठाइदिनुस्,’ उनले भने, ‘तर गाडीका लस्कर, नेता/कार्यकता लाइनमा बसेर फूलमाला र खादा लिएर एयरपोर्ट जान आवश्यक हुँदैन ।’ 

पौडेलले जनताको बहुदलीय जनवाद (जबज) र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताए । उनले जनताको बहुदलीय जनवाद मान्ने एमाले सधैं अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताए ।

‘हामी अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छौं । ओठेभक्ति र स्तूति होइन, मनैदेखि सैद्धान्तिक अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा छौं,’ उनले भने । 

मदन भण्डारीले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता दिनुपर्छ र प्रतिस्पर्धाका आधारमा समाजमा श्रेष्ठता हासिल गर्न सकिन्छ भन्ने मूल धारणा प्रतिपादन गरेको भन्दै नेता पौडेलले जनताको बहुदलीय जनवादका अलगअलग विशेषतालाई नागरिकबीच पुर्‍याउन आफू निरन्तर लागेको बताए ।

भण्डारीले शिक्षा र स्वास्थ्य सबै नागरिकका लागि सर्वसुलभ बनाउनुपर्छ भन्दै लैंगिक र सामाजिक समावेशीकरणका मुद्दामा काम गर्नुपर्ने विचार प्रतिपादन गरेको नेता पौडेलको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्