
नवनियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले नेताहरू घमण्डी भएकाले देश अघि बढ्न नसकेको दाबी गरेका छन् ।
सोमवार पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।
उनले मुलुक चलाउने मान्छे घमण्डी हुञ्जेल देश अघि बढ्न नसक्ने जिकिर गरे । मन्त्री चौधरीले सबैले आफ्नो ठाउँबाट सकेजति देश विकास गर्न सहयोग गर्नुपर्ने बताए ।
उनले नेताहरूले नीति बनाउँदा आफू सुरक्षित हुने किसिमबाट नीति निर्माण गरेको भन्दै इमान्दारिताको खाडल भर्न अब लाग्ने बेला भएको बताए ।
‘कुनै पनि व्यक्तिले स्ट्रङ कमिटमेण्ट नगर्दासम्म मुलुक बन्दैन, हामीलाई अफ्ठ्यारो त छ नि, घुस खान पाउँदा पैसा हुन्छ, अरू बद्मासी गर्दा अरू होला,’ उनले भने, ‘यो तरिकाले त मुलुक बन्दैन रहेछ नि । देश बनाउनका लागि सबैले सामूहिक रुपमा प्रतिबद्धता जनाऔँ ।’