२० असार २०८३, शनिबार

‘दोख’को ट्रेलर रिलिज, वनको विषयलाई लिएर दुई गाउँबीचको झगडाको कथा

‘दोख’को ट्रेलर रिलिज, वनको विषयलाई लिएर दुई गाउँबीचको झगडाको कथा

असार २४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको अनुप बराल निर्देशित फिल्म ‘दोख’को ट्रेलर सार्वजनिक गरिएको छ । 

राजधानीस्थित नेपाल फिल्म क्याम्पसमा आयोजित कार्यक्रमकाबीच ३ मिनेट २४ सेकेन्ड समयावधिको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्म प्रदर्शनको संघारमा रहँदा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । 

फिल्मले माओवादी कालखण्डको परिवेश प्रस्तुत गरेको छ । यद्यपि, फिल्मको कथा भने सामुदायिक वनको मुद्दालाई लिएर दुईवटा गाउँबीचको झगडाको हो । 

फिल्ममा दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय छ ।

सार्वजनिक ट्रेलरमा फिल्ममा शीर्ष भूमिकामा प्रस्तुत अधिकांश कलाकारहरूलाई प्रस्तुत गरिएको छ । 

माओवादी लडाकुको कुटपिट, सामुदायिक वनलाई लिएर दुई गाउँबीचको झगडा, वनको स्वामित्वका लागि दुई गाउँका युवाहरूबीच हुने फुटबल खेल र फुटबल खेलमा जसले जित्छ वनमाथि सोही गाउँको स्वामित्व रहने कुरा ट्रेलरमा प्रस्तुत गरिएको छ । 

ट्रेलरमा गाउँका शिक्षकको भूमिकामा देखिएका मनिष र दीयाबीच अंकुराउन थालेको प्रेमलाई समेत प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा दीया विवाहित महिला र एक छोरीको आमाको भूमिकामा प्रस्तुत भएको अनुमान लगाउन सकिन्छ ।  

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक अनुप बरालले २०७२ सालमा फिल्मको छायांकन शुरू गरिए पनि विविध कारणले प्रदर्शनमा ढिलाइ भएको बताए । 

भूकम्प, नाकाबन्दी हुँदै कोरोना भाइरस र निर्धारित बजेट सकिएपछि रोकिएको फिल्मको अन्ततः निर्माण सकेर अहिले भारी बिसाएको तर भारी गह्रौं नभएको बरालले बताए ।

‘फिल्म हेर्दा तपाईंले मीठोपन महसुस गर्नुहुनेछ भन्न सक्छु । फिल्मको बारेमा मैले अरू धेरै बोल्नु भनेको अलि हतारो गर्नुजस्तो लाग्छ । धेरै कुराहरू फिल्मले नै बोल्नेछ,’ बरालले भने । 

उनले फिल्म सामुदायिक वनलाई लिएर दुईवटा गाउँबीच भएको झगडाको अन्तरद्वन्द्वमा हुर्केको कथा रहेको बताए । 

बरालले अगाडि भने, ‘यद्यपि, यसमा मल्टिपल चरित्रहरू छ । बहुचरित्रहरू भएको, एउटा ठूलो क्यानभास जस्तो, उपन्यासजस्तो मलाई लाग्छ । त्यो उपन्यासमा तपाईंलाई कसरी डोर्‍याउन सकिन्छ ।’

अभिनेत्री दीया मास्केले ‘दोख’ र भदौमा प्रदर्शनमा आउने अर्को फिल्म ‘प्रकाश’मा आफूले गरेका चरित्र दुवै अर्थपूर्ण रहेको बताइन् । उनले आफूले निर्वाह गरेको चरित्र र फिल्मलाई दर्शकले रुचाउने विश्वास व्यक्त गरिन् । 

निर्माता सविन ज्ञवाली र फिल्ममा फुटबल खेलको कोरियोग्राफी गरेका अमनप्रताप अधिकारीले समेत आ–आफ्नो धारणा राखेका थिए । 

राजन कठेतले लेखेको फिल्मको निर्माता सविनसँगै मनोज अधिकारी हुन् । फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्