२८ असार २०८३, आइतबार

मन्त्री बडूद्वारा चोभार सुक्खा बन्दरगाह र आविष्कार केन्द्रको अवलोकन

मन्त्री बडूद्वारा चोभार सुक्खा बन्दरगाह र आविष्कार केन्द्रको अवलोकन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले चोभार सुक्खा बन्दरगाहको आज अवलोकन भ्रमण गर्नुभएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको अवस्था, देखापरेका समस्या, हालसम्मको प्रगति, आगामी योजनालगायत विषयमा मन्त्री बडूलाई जानकारी गराएका थिए  । 

मन्त्री बडूले काठमाडौँ केन्द्रित व्यवसायीका लागि सुक्खा बन्दरगाहमार्फत, एकीकृत जाँच चौकी, गोदाम व्यवस्थापन, सुरक्षा व्यवस्थालगायतका सुविधाबाट व्यापारी, व्यवसायीहरुको समय र लागत कम हुन गई आयात निर्यातमा महत्वपूर्ण भूमिका खेल्ने चोभार सुक्खा बन्दरगाहलाई सरकारले स्थापना गरेको लक्ष्यअनुसार सञ्चालन गर्न सञ्चालक समितिलाई गम्भीरतापूर्वक लाग्न निर्देशन दिए । 

उनले गत चैत २२ गतेदेखि सञ्चालनमा आएको बन्दरगाहमा वीरगञ्ज नाकाबाट उपत्यकालगायत जिल्लाहरुमा आउने सम्पूर्ण ट्रक एवं कन्टेनरहरु नाकामा नै ‘डिजिटल लक’ भई सोझै आउनुपर्नेमा त्यसरी आउने नगरेको र हालसम्म १२ वटा कन्टेनर मात्रै आएको अवस्थातर्फ विशेष चासो राख्दै यस सन्दर्भमा अध्ययन, छलफल र सम्बद्ध पक्षहरुसँग समन्वय गरी सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालन गर्नेतर्फ क्रियाशील हुनसमेत निर्देशन दिए । 

उनले २२० रोपनीमा फैलिएको बन्दरगाहको प्रयोग हुनसके सरकार र व्यवसायी दुवै पक्षले लाभ लिनसक्ने भएकाले यसको अधिकतम लाभ लिने गरी निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने धारणा राखे ।

आजै मन्त्री बडूले युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्र रहेको स्थल त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुर पुगेर त्यहाँ भइरहेका गतिविधिहरुको समेत अवलोकन गरे । 

salt training

कमेन्ट गर्नुहोस्