१९ असार २०८३, शुक्रबार

अब मेरो नेतृत्वमा नेपालका कम्युनिस्टलाई एकताबद्ध बनाउँछु : वामदेव गौतम

अब मेरो नेतृत्वमा नेपालका कम्युनिस्टलाई एकताबद्ध बनाउँछु : वामदेव गौतम
फाइल फोटो

नेकपा एमालेका पूर्व नेता वामदेव गौतमले ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’ नामक नयाँ पार्टीको घोषणा गरेका छन् ।

मंगलवार आयोजित कार्यक्रममा उनले नेपालका कम्युनिस्ट पार्टीलाई एकताबद्ध रूपमा लैजानका लागि नयाँ पार्टीको घोषणा गरेको बताए । नेता गौतमले आगामी निर्वाचनसम्म ठूला कम्युनिस्ट पार्टीलाई एकीकृत गर्नका लागि आफूले नयाँ पार्टी गठन गरेको उल्लेख गरे ।

‘नेपालका कम्युनिस्ट फुट्दा अरुले नै फाइदा लिए,’ उनले भने, ‘अब मेरो नेतृत्वमा नेपालका कम्युनिस्टलाई एकताबद्ध बनाउँछु ।’ आफ्नो पार्टीले कम्युनिस्टलाई एकताबद्ध बनाएर पार्टी सञ्चालन गर्ने नेता गौतमको भनाइ थियोे । 

पार्टी एकीकरण गर्ने विषयलाई जुन कम्युनिस्ट पार्टीले सम्मान गर्छ त्यहीसँग एकता गर्ने उनले बताए । कम्युनिस्ट पार्टी एकताका लागि ३ महिने अभियान सञ्चालन गर्ने गौतमले जानकारी दिए ।

‘हाम्रो पार्टीको मुख्य कार्यभार विघटन भएको नेकपालाई फेरि पुनर्गठन गर्नु हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पूर्व नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई कार्यगत एकतामा ल्याउन वातावरण निर्माण गर्नु अर्को उद्देश्य हो,’ उनले भने । 

नेपालका कम्युनिस्ट पार्टी ४६ पटक पुनर्गठन भएका र त्यसमा आफू नै संलग्न भएको नेता गौतम भनाइ थियो । नयाँ गठन भएको पार्टीको अध्यक्षमा गौतम रहेका छन् ।

पार्टी बहुपदीय प्रणालीमा हुनेछ । पार्टीमा १ अध्यक्ष, प्रत्येक प्रदेशमा इञ्चार्जको जिम्मेवारी बहन गर्ने गरी ७ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव, १ कोषाध्यक्ष र १ सचिव रहने व्यवस्था गरिएको छ ।  

पार्टीको ७५ सदस्यीय कमिटी, १५ जना नबढ्ने गरी स्थायी कमिटीको व्यवस्था गरिएको केन्द्रीय सचिवालयका सचिव डिवी कार्कीले जानकारी दिए । गौतमको संयोजकत्वमा ८ सदस्यीय केन्द्रीय सचिवालय गठन गरिएको छ । 

सचिवालयमा सचिव कार्की तथा सदस्यमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्