
काठमाडौं महानगरपालिकाले मंगलवारदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ ।
हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले सडकमा खानेकुरा बेच्न निषेध गर्ने कदम चालेको जनाएको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले कामपाले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा रोक लगाएको छ । आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने कामपाले चेतावनी दिएको छ ।
होटल, रेस्टुराँको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए । पानीको पाइपलाइन तथा ढल प्रणालीको अवस्था हेर्न तथा सुधार गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरिएको उनले बताए ।
शहरी स्वास्थ्य क्लिनिक र शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई जीवन जल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेको र बिरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी प्रबन्ध मिलाइएको त्रिपाठीले बताए ।
नागरिकको सहजताका लागि कामपाले २४सैं घण्टा ११८० हटलाइन टेलिफोन सोमवारदेखि सञ्चालनमा ल्याएको छ ।