
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद् बैठक मंगलबार सम्पन्न भएको छ । सोमबारदेखि राजधानीमा चलेको बैठकले अध्यक्ष माधव कुमार नेपालको पेश गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ । यस्तै पार्टीले विभिन्न १७ बुँदे प्रस्ताव पनि पारित गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
पारित प्रस्तावअनुसार समाजवादीले राज्यका सबै अंगमा भ्रष्टाचार व्याप्त भइरहेको भन्दै छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ ।
यस्तै दैनिक उपभोग्य वस्तुहरुको मूल्य नियन्त्रण गरी सुपथ मूल्यमा आपूर्ति गर्ने व्यवस्था मिलाउन माग गरिएको छ । उनले बैठकले किसानहरुलाई सहज तरिकाबाट मल तथा बीउ बीजनको आपूर्तिको व्यवस्था यथाशीघ्र मिलाउन सरकारसँग आग्रह गरेको पनि बताए ।
बैठकले महिला तथा बालबालिकाहरुमाथि भइरहेको यौनिक हिंसा तथा सामुहिक बलात्कारको आपराधिक घटनाप्रति कठोर कानूनी कारबाही गर्न र पीडित महिला तथा बालबालिकाहरुको उचित संरक्षण, उपचार, पुनः स्थापना र क्षतिपूर्तिका साथै सुरक्षित एवं सम्मानजनक सामाजिक जीवनको प्रत्याभूतिका लागि सरकारसँग माग गरेको छ ।
बैठकले पार्टी पंक्तिलाई पनि सम्भावित विपद् र यसको व्यवस्थापनका लागि आवश्यक पर्ने खोज, उद्धार र राहतका लागि तयार रहन अपिल गरेकोसमेत खतिवडाले बताए । उनले भारतले नेपालको सीमाना नजिकै बनाएको बाँधहरुको कारणले नेपालको तराईको भूभाग डुबानको समस्यामा पर्दै आएको भन्दै यो समस्यालाई सरकारले गम्भीरतापूर्वक लिइ भारतसँग वार्ताको माध्यमबाट दीर्घकालीन रुपमा पहल गर्न, सुकुम्बासी समस्या समाधानका लागि पुनर्गठन गरिएको भूमि समस्या समाधान आयोगले यथाशीघ्र वास्तविक सुकुम्बासी पहिचान गरी प्रभावकारी ढंगले दीर्घकालीन समस्या समाधानको पहल गर्न, वास्तविक नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने, संघीयतालाई प्रशासनिक रुपमा व्यवस्थापन गर्ने, निजामति सेवालाई व्यवस्थित गर्ने, तथा तीनै तहको सरकारबीचका काम र भुमिकालाई व्यवस्थित गर्ने ऐन, कानूनहरु यथाशीघ्र निर्माण गर्नपनि बैठकले सरकारसँग माग गर्ने निर्णय गरेको बताए ।
खतिवडाले बैठकमा काठमाडौं उपत्यका लगायतका मुलुकका विभिन्न स्थानहरुमा झाडापखालाका बिरामी देखिन थालेकोप्रति सजग हुँदै झाडापखाला रोकथामका लागि जनचेतना फैलाउन, निरोधात्मक कार्य गर्न, बिरामीको उचित उपचार गर्ने कुरा प्राथमिकतामा राख्ने लगायतका प्रस्तावसमेत पारित गरेको बताए ।
बैठकले आगामी चुनावका लागि पार्टीपंक्ति गाउँगाउँमा जाने निर्णय पनि गरेको छ ।