२६ जेठ २०८३, मंगलबार

२२ करोड राजस्व चुहावट आरोपमा पशुपति रोड क्यारियरविरुद्ध मुद्दा दर्ता

२२ करोड राजस्व चुहावट आरोपमा पशुपति रोड क्यारियरविरुद्ध मुद्दा दर्ता

राजस्व अनुसन्धान विभागले पशुपति रोड क्यारियर्सविरुद्ध २२ करोड रूपैयाँ राजस्व चुहावट गरेको आरोपमा बुधवार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

पशुपति रोड क्यारियर नेपाल प्रालि बुटवल शाखाले बिक्रेता न्यु मनकामना सप्लायर्स रुपन्देही तथा राज फेन्सी कर्नर उल्लेख गरी मालवस्तु ढुवानी गर्दा २२ करोड १९ लाख ४६ हजार ७०३ रूपैयाँ राजस्व चुहावट गरेको भन्दै मुद्दा दर्ता गरिएको हो । 

उक्त सप्लायर्सले मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणालीमा प्रविष्ट गरी मालवस्तु पठाएको तर उक्त मालवस्तुहरू अन्य विभिन्न फर्महरूले विना बिलबिजक बुझिलिएको थियो । 

विभिन्न फर्महरूले भन्सार नाका प्रयोग गरी प्रज्ञापन पत्रसमेत नभरी सामान आयात गरी विभिन्न मालसामान खरिद बिक्री नजनाई भन्सार, आयकर, मूल्य अभिवृद्धि कर र लाभांश करलगायतका राजस्व नतिर्ने तथा अर्कैको नाममा व्यवसाय सञ्चालन गरी तिर्नुपर्ने कर राजस्व नबुझाई आफूले लाभ लिई राजस्व चुहावट गरेको भन्दै मुद्दा दर्ता गरिएको हो । 

पशुपति रोड क्यारियर नेपाल प्रालिका सञ्चालकहरू महेन्द्रप्रसाद गुप्ता, राजेन्द्रप्रसाद गुप्ता, मधुकुमारी गुप्ता, भारतीय नागरिक ओमप्रकाश भनिने उपेन्द्रकुमार सिंह र अन्जियन आलम, न्यु मनकामना सप्लायर्सका प्रोपाइटर रेखा जयसवाल, मुख्य कारोबारी राकेशप्रसाद जैसवाल विरुद्ध २१ करोड ८५ लाख १३ हजार २०२ रूपैयाँ बिगो कायम गरिएको छ । 

त्यसै गरी सुद्रानिया इम्पेक्सका प्रोपाइटर भरतकुमार अग्रवालविरुद्ध ७ करोड ३६ लाख २७ हजार ४१४ रूपैयाँ, आर एण्ड एस इन्टरनेशनल  प्रालिका सञ्चालक अमीत प्रधान, व्यवस्थापक सुजित महर्जन र कर्मचारी श्यामप्रसाद बस्यालविरुद्ध २ करोड ८९ लाख २५ हजार ६५२ रूपैयाँ बिगो कायम गरिएको छ । 

त्यसै गरी अन्य विभिन्न १३ वटा फर्महरूविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्