२५ जेठ २०८३, सोमबार

स्थानीय निर्वाचनमा व्यक्तिवादी सोचका कारण पार्टीले क्षति व्यहोर्‍यो : डा. महत

स्थानीय निर्वाचनमा व्यक्तिवादी सोचका कारण पार्टीले क्षति व्यहोर्‍यो : डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र व्यक्तिवादी सोचले समग्र पार्टीलाई असर पर्ने भएकाले यस्तो सोचबाट मुक्त हुन आग्रह गरेका छन् ।

बट्टारमा नुवाकोट साहित्य प्रतिष्ठानको १५औं वार्षिकोत्सव, कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रममा बुधवार उनले म भए ठीक अरु भए बेठीक भन्ने व्यक्तिवादी प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए ।

डा. महतले पार्टीको कार्यकर्ता भइसकेपछि व्यक्तिवादी सोचबाट माथि उठ्नुपर्नेमा जोड दिए । उनले भने, ‘हालै भएको स्थानीय तह निर्वाचनमा व्यक्तिवादी सोचको कारण पार्टीले क्षति व्यहोरेको छ । अब संघ र प्रदेशको निर्वाचन आउँदैछ । पार्टीलाई सफल बनाउन व्यक्तिवादी सोचबाट मुक्त हुनैपर्छ ।’ 

पूर्वमन्त्री समेत रहेका प्रवक्ता डा. महतले कसैलाई देउता र कसैलाई दैत्य बनाइदिने अहिलेको प्रचलनबाट पनि जोगिनुपर्ने बताए । ‘कसैलाई क्षणभरमै देउता बनाइन्छ । त्यसको आलोचना समेत गर्न पाइँदैन । कसैलाई अनायासै दैत्य बनाइन्छ । न कोही देउता हुन्छ, न दैत्य । सत्य खोज्ने धैर्यता हामीमा छैन,’ डा. महतले भने, ‘यस्तो अहिलेको प्रचलनबाट जोगिनुपर्छ ।’

उनले रासायनिक मलमा अरु देशप्रति निर्भर हुँदा अहिले अभावको समस्या आइरहेको बताए । उनले सरकारले अब रासायनिक मल कारखानाको स्थापना गर्नमा ढिलो गर्न नहुने समेत बताए । डा. महतले प्राकृतिक खेती गर्ने र गाईवस्तुको थोरै मलबाट धेरै जग्गामा रासायनिक मलसरह काम गर्ने प्रविधि पनि विदेशतिर रहेकाले त्यसलाई प्रयोग गर्नसकेमा रासायिक मलको अभाव झेल्न नपर्ने बताए ।

कार्यक्रममा डा. महतले विभिन्न स्रष्टालाई सम्मान गरेका थिए । कार्यक्रममा नुवाकोट साहित्य प्रतिष्ठानमा संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले लेखेको समयचक्र हाइकु संग्रह विमोचन समेत गरिएको थियो । कार्यक्रममा अमृता स्मृति, कविन्द्र घिमिरे, अकिन्चन राई, बुनु लामिछाने, अन्जना पौडेल लगायतले रचना वाचन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्