
१ नम्बर प्रदेशकी सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन् ।
सरकारी छाप, दस्तखत र कागजात कीर्ते गरेको अभियोग प्रमाणित भएको लामो समयपछि खातुनले पदबाट राजीनामा दिएकी हुन् ।
उनले बुधवार पदबाट राजीनामा दिएकी हुन् । उनको राजीनामा सभामुख प्रदीपकुमार भण्डारीले बिहीवार स्वीकृत गरेका छन् ।
मोरङबाट प्रतिनिधित्व गर्ने खातुनको मुद्दा दोहोर्याउने आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको थियो । अघिल्लो हप्ता मात्रै सर्वोच्च अदालतले खातुन विरुद्धको सरकारी सहीछाप र दस्तखत कीर्ते मुद्दा दोहोर्याउन अनुमति दिन अस्वीकार गरेको थियो ।
अदालतले मुद्दा दोहोर्याउन अनुमति दिन अस्वीकार गरेपछि उनले राजीनामा दिएकी छन् ।
सरकारी कागजात कीर्ते अभियोगमा उच्च अदालत विराटनगरले दोषी ठहर गरेपछि खातुनले सर्वोच्चमा मुद्दा दोहोर्याउन माग गरेकी थिइन् ।
तत्कालीन कद्माह गाउँ विकास समितिमा रहेको ३ विघा १० कट्ठा जग्गाको मोही पाउनका लागि खातुनले २०७१ चैतमा गाविस सचिवको सिफारिस आफैंले गरेको र एकै दर्ता नम्बरका २ वटा सिफारिस गरेको भन्दै कीर्ते मुद्दा परेको थियो ।
मोरङ जिल्ला अदालतले उनलाई २०७६ वैशाख ३१ गते दोषी प्रमाणित गर्दै १ वर्ष कैद सजायको आदेश दिएको थियो । अदालतको आदेश लगत्तै फरार रहेकी उनले जिल्लाको आदेशविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गरेकी थिइन् ।
विराटनगर उच्च अदालतले २०७४ पुस ९ गते उनको फैसला सुनाउँदै सजाय थपेको थियो । उनलाई १ वर्ष कैद र १४ हजार ५८३ रुपैयाँ जरिवानाको फैसला भएको थियो ।
उच्चको फैसलाप्रति पनि असन्तोष जनाउँदै सांसद खातुनले २०७६ फागुन ११ गते सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन् । आफ्नो मुद्दामा त्रुटिपूर्ण फैसला भएको भन्दै सर्वोच्च गएकी उनले मुद्दा दोहोर्याउन माग गरेकी थिइन् ।
जिल्ला अदालतको आदेश लगत्तैदेखि फरार उनले संसद्मा सुटुक्क आएर हाजिरी गरेर तलबभत्ता भने बुझ्ने गरेकी थिइन् । सभामुख एमालेकै भएका कारण उनको पद जोगिँदै आएको थियो ।
प्रहरीले उनलाई खोज्दै आएको बताए पनि एमालेको दबाबका कारण उनी प्रहरी नियन्त्रणमा पर्नबाट जोगिँदै आएकी थिइन् । उनलाई एमाले सांसद लिलाबल्लब अधिकारीले गाडीमा ल्याएर सुटुक्क हाजिर गराएर लाने गरेका थिए । उनी समानुपातिक सांसद हुन् ।
खातुनले राजीनामा दिएपछि प्रदेश सभामा एमालेको सांसद संख्या सभामुखसहित ३८ जनामा झरेको छ । यसअघि स्थानीय चुनाव लड्न एमालेका २ सांसद्ले राजीनामा दिइसकेका छन् ।