
केही दिन देखिको अविरल वर्षाका कारण अवरुद्ध बनेको संखुवासभाको फाक्सिन्दा दोभान– गढीबजार सडक सुचारु भएको छ ।
मकालु गाउँपालिका–३, नयाँबस्ती नजिकै खसेको पहिरोको कारण फाक्सिन्दा दोभानदेखि गढी बजारसम्मको सडक खण्ड अवरुद्ध भएको थियो । बुधवारदेखि अवरुद्ध सडक नेपाली सेनाले बनाएपछि सुचारु भएको हो ।
केवलजंग गुल्मबाट खटिएको टोलीले पहिरो हटाई पुनः बिहीवार दिउँसोदेखि सञ्चालनमा ल्याएको सेनाले जनाएको छ । देशको पूर्वी क्षेत्रमा दुई दिनदेखि लगातार वर्षा भइरहेको छ । वर्षाका कारण धेरै ठाउँमा पहिरो तथा बाढीका कारण जनवजीवन प्रभावित भइरहेको छ । पहाडी क्षेत्रमा पहिरो तथा तराईमा बाढीका कारण जनजीवन प्रभावित भएको हो । तराईका अधिकांश क्षेत्रमा बाढीले डुबानको समस्या देखिएको छ।