
तेह्रथुम, २० पुस - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेह्रथुमको सङ्क्रान्तिबजार पुनःनिर्माण तथा पुनःस्थापना कोषमा रु एक करोड दिने घोषणा गर्नुभएको छ । मङ्गलबार सङ्क्रान्तिबजार पुगेर आगलागीस्थलको निरीक्षण तथा अग्निपीडितसँग भेटपछि प्रधानमन्त्री दाहालले प्रधानमन्त्री राहत कोषबाट रु एक करोड रुपैयाँ दिने बताउनुभएको हो ।
उहाँले आगलागीपीडितका लागि राहत प्याकेजको घोषणा गर्दै अग्निपीडितको पुनःस्थापना तथा पुनःनिर्माणका लागि बिनाधितो सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने पनि बताउनुभयो । सङ्क्रान्तिबजारमा खानेपानी आयोजना सञ्चालन, दमकल खरिद, विद्युतीकरण, एम्बुलेन्स खरिदमा पनि सरकारले निर्णय लिने प्रधानमन्त्री दाहालले घोषणा गर्नुभयो ।
राहत वितरणमा सजिलो हुनेगरी तत्कालै नेपाल बैंक तथा कृषि विकास बैंकका शाखा पुनःस्थापनाको पहल तथा निर्णय गर्ने प्रधानमन्त्री दाहालले बताउनुभयो । प्रधानमन्त्री दाहालले मुलुक अहिले सबैभन्दा बढी राजनीतिक सङ्कटको घडीमा रहेको भन्दै यसको समाधानतर्फ सबैको ध्यानाकर्षण हुनु जरुरी रहेको बताउनुभयो । उहाँले आठराई क्षेत्र ऐतिहासिक र थुप्रै नेताको जन्मस्थान भएर पनि विकासमा पछि परिरहेको देखेको भन्दै आगलागीपछि राज्यकै ध्यानाकर्षण गर्न सकेकाले अब यस क्षेत्रको विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालले जिल्लाको विकासका लागि तमोर जलाशययुक्त आयोजनाको निर्माण अघि बढाउन ऊर्जा मन्त्रालयलाई निर्देशनसमेत दिएको बताउनुभयो । यस्तै, वसन्तपुर–म्याङलुङ सडकखण्ड कालोपत्र, मध्यपहाडी लोकमार्ग निर्माणमा तीव्रता, पाँचथर—तेह्रथुम जोडिने हाक्पारा घाटमा मोटरेबल पुल निर्माण, तमोर नदीका तटीय क्षेत्रका नौ गाविसमा खानेपानी योजना सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रधानमन्त्री दाहालले घोषणा गर्नुभयो ।
आठराईसँग पुरानो सम्बन्ध रहेको बताउँदै प्रधानमन्त्री दाहालले विद्यार्थी जीवनमा अभ्यास शिक्षणका लागि एक वर्ष यहाँको चुहानडाँडास्थित विद्यालयमा बिताएको स्मरण गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आठराईको विकासतर्फ आगलागीको घटनाले ध्यानाकर्षण गरेको बताउनुभयो । आठराईको सङ्क्रान्तिबजारमा जन्मिएका नेता सिटौलाले जन्मभूमिको मायाले पटकपटक तान्ने गरेको र अग्निपीडितका माग, समस्या गुनासा सँगै आठराई क्षेत्रका समस्याबारे प्रधानमन्त्री दाहाललाई जानकारी भएकाले अब विकास निर्माणका काममा राज्यको ध्यान जाने विश्वास व्यक्त गर्नुभयो ।
नेता सिटौला साताअघि मात्रै सङ्क्रान्तिबजार पुगेर अग्निपीडितलाई भेट गरी सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभएको थियो ।
नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकालले संसद्मा एमाले प्रमुख प्रतिपक्षी दल भए पनि सरकारका सकारात्मक कदम र समस्या सुल्झाउन सधैँ साथ र समर्थन रहने बताउनुभयो ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य तथा सभासद् सीता गुरुङ, सभासद् भवानीप्रसाद खापुङ र गणेश विमलीले मन्तव्य राख्नुभयो । पुस १ गते भएको भीषण आगलागीमा परी सङ्क्रान्तिबजारका २४ घर पूर्णरुपमा जलेर नष्ट भएका थिए भने अन्य पाँच घरमा आंशिक क्षति पुगेको थियो । आगो निभाउन तीनवटा टहरा भत्काइएका थिए । आगलागीबाट ७३ परिवार विस्थापित भएका छन् । प्रहरी मुचुल्काअनुसार आगलागीबाट रु १४ करोड आठ लाखको धनमाल जलेर खरानी भएको थियो । रासस