२९ जेठ २०८३, शुक्रबार

गाईघाटका पसल डुबानमा, लाखाैँको क्षति

गाईघाटका पसल डुबानमा, लाखाैँको क्षति

गएराति परेको निरन्तर वर्षाका कारण उदयपुर जिल्लाको सदरमुकामस्थित गाईघाट बजार  क्षेत्रका सयौँ घर पसल डुबानमा परेका छन् । निरन्तर वर्षाका कारण बजार क्षेत्र र घर डुबानमा परेपछि त्यहाँका पसलमा बिक्रीका लागि राखिएका विभिन्न उपभोग्य बस्तु सबै नष्ट भएर पचासौँ लाखभन्दा बढीको सामान क्षति भएको स्थानीय व्यापारीले बताएका छन् ।

गाईघाट बजार असारी लाइन क्षेत्रका एक पसल सञ्चालक तीलक खड्काका अनुसार शुक्रवार साँझदेखि परेको भीषण वर्षाको कारण गएराति आफूहरूको टोलसहित पसल र घर डुबानमा परेको र आफ्नो पसल डुब्दा दशौँ लाखको उपभोग्य वस्तु नष्ट  भएको छ ।

मुख्य गरेर गाईघाट बजार क्षेत्रको शान्तिनगर टोल, ज्योति टोल, प्रतिभाटोल र मुख्य बजार क्षेत्रको पुरानो बसपार्क क्षेत्र तथा पिलचौक र संगमटोलका अधिकांश घर र पसल डुबानमा पर्दा पसलमा राखिएका अधिकांश उपभोग्य वस्तु नष्ट हुन पुगेको अर्का पसल सञ्चालक दीपक कार्कीले बताए ।

अन्य स्थानीयवासीको पनि घरभित्र पानी प्रवेश गर्दा घरका अधिकांश सामग्री पानीले बिगारेको उनीहरूको गुनसो थियो । 

त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विकले  शुक्रवार बेलुकीदेखि आएको निरन्तर भीषण वर्षाका कारण बजार क्षेत्रका घर र पसलभित्र पानी प्रवेश गरेर डुबानमा परेकाले धेरै पसलका सामग्री नष्ट हुन पुगेको र आफूले बिहानैदेखि अनुगमन र स्थलगत अध्ययन शुरु गरेको जानकारी दिए ।

क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको र धेरै क्षति भएका कारण सबै आँकडा संकलन नभएसम्म क्षतिको यथार्त विवरण आउन ढिलाइ हुने उनको भनाइ थियो । नगरपालिकाका प्रमुख वसन्त बस्नेत र उपप्रमुख महेस्वरी राईले पनि बजार डुबानमा परेपछि गाईघाट बजारको डुबानको क्षतिको बारेमा अध्ययन थालेका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्