
डेढ वर्षअघि सार्वजनिक ‘छुट्नलाई पो रैछ क्यारे’बोलको प्रेमबिछोडको मर्मस्पर्शी गीतलाई श्रोता दर्शकले निकै रुचाए ।
प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमको संगीत रहेको गीतमा थानेश्वर र शान्तीश्री परियारले स्वर दिएका थिए । लाखौं टिकटक बनेको उक्त गीतले अहिलेसम्म ७५ लाख बढी भ्युज पाइसकेको छ, युट्युबमा ।
यतिबेला सोही गीतको अध्याय २ का रुपमा नयाँ गीत सार्वजनिक भएको छ- एउटा कथा । गीतकार उही, संगीतकार उही । गायक/गायिका पनि उही । अर्थात, प्रभाकै शब्द, थानेश्वरको संगीत, थानेश्वर र शान्तीश्रीको स्वरमा शुक्रवार रातिमात्रै ‘एउटा कथा’ गीत सार्वजनिक गरिएको हो ।
यो गीतलाई एरेन्ज कमल सौरागले गरेका छन् भने मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका हुन् ।
जीवन्त अभिनयका कारण चिनिएका माओत्से गुरुङले निर्देशन गरेको गीत थियो ‘छुट्नलाई पो रैछ क्यारे ।’ यसपटक ‘एउटा कथा’ लाई भने रामजी लामिछानेले निर्देशन गरेका छन् ।
रामजी पनि चलचित्रका गीतदेखि लोक, आधुनिक गीतसम्ममा रुचाइएका निर्देशक हुन् । यसपटक भिडियोमा मुख्य मोडलसमेत दोहोरिएका छन्, अभिनेता पुष्प खड्का । साथमा, अभिनेत्री रुबिना थापा र मोडल सुधीर श्रेष्ठको भिडियोमा अभिनय छ ।
काठमाडौंभित्रैका विभिन्न स्थानहरूमा मानकृष्ण महर्जनले भिडियो खिचेका हुन् भने बन्दे प्रसादले त्यसको सम्पादन गरेका हुन् ।
सर्जक, कलाकार, निर्देशक एवं प्राविधिकहरूलगायत गीतसँग जतिपनि जोडिएका छन्, ती सबैको एकमुष्ठ कौशलको परिणाम हो –एउटा कथा ।
गीतमा प्रेम जोडीको फरक खालको प्रेमकथा प्रस्तुत गरिएको छ । शब्दहरू निकै मर्मस्पर्शी छन् ।
भिडियोको परिकल्पना उत्तिकै मर्मस्पर्शी लाग्छ । कृष्ण केसी प्रस्तुतकर्ता रहेको गीत ‘जननी नेपाल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतले भ्युज विस्तारै बढाउँदै लगेको छ । गीतमा आएका सकारात्मक प्रतिक्रिया आएका छन् ।
धेरैले गीत मर्मस्पर्शी लागेको उल्लेख गरेका छन् । कतिपयले १५ मिनेटको यो गीत छोटो भएको समेत प्रतिक्रिया दिएका छन् । श्रोता दर्शकको प्रतिक्रियाले गीत निर्माण टिम उत्साहित छ ।