नेपाल प्रहरी श्रीमती संघ र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याबसन)बीच एक सम्झौतामा हस्ताक्षर भएको छ । संघ र एन प्याबसनबीच बहालवाला प्रहरी कर्मचारीका परिवार, अमर प्रहरी परिवार तथा पूर्व प्रहरी परिवारका सन्ततिहरूलाई एन–प्याबसनसँग आवद्ध विद्यालयहरूमा छात्रवृत्ति तथा भर्ना शुल्क सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा संघको तर्फबाट अध्यक्ष कुसुम लता सिंह र एन–प्याबसनकोतर्फबाट सह–अध्यक्ष सुवास न्यौपानेले हस्ताक्षर गरेका छन् । आइतवार संघको कार्यालयमा आयोजित एक कार्यक्रमबीच सम्झौतापत्र पनि आदानप्रदान गरिएको छ ।
कार्यक्रममा संघकी अध्यक्ष सिंहले शान्ति सुरक्षाको अतिरिक्त प्राकृतिक प्रकोप, आपत् विपद तथा अपराध नियन्त्रणमा समेत आफ्नो ज्यानको प्रवाह नगरी देश र जनताको लागि खटिएका प्रहरी कर्मचारी, अमर प्रहरी तथा पूर्व प्रहरी कर्मचारीहरूले पुर्याएको योगदानको उच्च मुल्यांकन गरी एन–प्याबसनले प्रदान गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन् । शैक्षिक सेवा विस्तार तथा योगदानका सत्-प्रयासहरू आगामी दिनमा अझै विस्तारित हुने कामना उनले व्यक्त गरिन् ।
एन–प्याबसनका सह–अध्यक्ष न्यौपानेले राम्रो काम थालनी भएको चर्चा गर्दै नेपाल प्रहरीका परिवारलाई शैक्षिक सहयोग गर्न पाउँदा खुशी लागेको बताए । एन–प्याबसनसँग आवद्ध देशभरका विद्यालय तथा १०+२ सम्मको लागि प्रत्येक विद्यालयमा बढीमा १ जना छात्रवृत्ति पर्ने गरी अमर प्रहरी, असहाय र अन्यलाई वार्षिक भर्ना शुल्क नलिने गरी विद्यार्थी भर्ना गरिने उक्त सम्झौतामा उल्लेख गरिएको छ ।