
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि बितेका २४ घण्टाका मुख्यमुख्य समाचारसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ–
तत्कालीन नेकपा हुँदा केपी ओलीविरुद्ध मोर्चाबन्दी गर्ने सचिवालयका नेताहरुबीच आइतबार भेटवार्ता भएको छ । राजधानीको हात्तीवनमा भएको भेटवार्तामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।
यि नेताहरुले तत्कालीन नेकपा हुँदा ओलीविरुद्ध कडा मोर्चाबन्दी गरेका थिए भने पछि सर्वोच्चको आदेशको बलमा नेकपा विभाजित बनेको थियो । नेकपा खारेज भएपछि एमाले र माओवादी केन्द्र ब्यूँतिएको थियो । पछि एमालेबाट नेपाल र खनाल पनि छुट्टिएका थिए । हाल आएर यी नेताहरु फेरि कम्युनिस्ट एकताको पहलस्वरुप छलफलमा बसेका हुन् । नेताहरुले छलफललाई निरन्तरता दिने बताएका छन् ।
यता नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि पार्टीका नेताहरुले दवाव बढाएका छन् । महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि पदाधिकारी चयन नगरेको भन्दै नेताहरुले दवाव बढाएका हुन् । तर, प्रचण्ड भने तत्काल पदाधिकारी चयन गर्ने पक्षमा देखिँदैनन् ।
आइतबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा बोल्ने केही नेताहरुले पदाधिकारी चयन गर्न प्रचण्डलाई दवाव दिएका छन् । उनीहरुले पार्टीलाई चलायमान बनाउन स्थायी कमिटी, पोलिटबयुरो लगायत पनि गठन गरिनुपर्नेमा जोड दिएका छन् । यो विषयलाई सोमबारको बैठकमा थप चर्काउने तयारी नेताहरुको छ ।
००००
आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले १० पृष्ठमा समेटिएको संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका छन् । माओवादीले यसअघि लामो दस्ताबेज प्रस्तुत गर्दै आएकोमा यो परम्परा यसपटक तोडिएको छ । माओवादी बैठक मूलतः प्रचण्डको प्रतिवेदन, स्थानीय निर्वाचनको समीक्षा र भावी रणनीतिका विषयमा केन्द्रीत छ । अध्यक्ष प्रचण्डले आइतबार यही पेरिफेरिमा ९ एजेण्डा पेश गरेका थिए ।
आइतबारको बैठकमा प्रदेश इन्चार्जहरुको रिपोर्टिङ भएको थियो भने प्रचण्डले राजनीतिक प्रतिवेदनका विषयमा संक्षिप्त व्याख्या गरेका थिए । बैठक सोमबार ११ बजे पुनः बस्ने कार्यक्रम छ ।
०००००
नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा रहने सदस्यहरुको संख्या बढाएको छ । आइतबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले थप केन्द्रीय सदस्यहरुलाई पथ तथा गोपनीयताको शपथ दिलाएका हुन् । गत महाधिवेशनमा माओवादीले २९९ सदस्य भन्दा बढी केन्द्रीय समिति सदस्य नबनाउने बताएपनि आइतबारसम्म आइपुग्दा यो संख्या निकै बढेको छ ।
माओवादीले विवादित व्यक्ति लाक्र्याल लामादेखि अध्यक्ष प्रचण्डका ज्वाइँ जीवन आचार्यसम्मलाई केन्द्रीय समिति सदस्य बनाएको छ । हालसम्म माओवादीमा ३७३ जना केन्द्रीय सदस्य पुगेका छन् भने त्यसमा नेताहरुका आफन्तहरुको संख्या उल्लेख्य रहेको छ ।
यस्तै माओवादीले ८६ जनालाई वैकल्पिक सदस्य बनाएको छ । माओवादीमा पद वितरण अपारदर्शी बनाएको भन्दै आइतबारको केन्द्रीय समिति बैठकमै कटाक्ष भएको थियो । बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले पद दिने मामिलामा नेतृत्व भावुक भएको भन्दै कसैले रोइकराइ गर्दैमा पनि भावनामा बगेर केन्द्रीय सदस्य बनाइदिने परिपाटी रहेको भन्दै व्यङ्ग्य गरेका थिए ।
००००
नेकपा एमालेको सचिवालय बैठकले स्थानीय तहको चुनावमा अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ ।
पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आइतवार बसेको सचिवालय बैठकले चुनावी समीक्षा गरेको एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए । चौतर्फी घेराबन्दीका बीचमा एमाले पहिलो शक्तिका रूपमा स्थापित भएको निष्कर्ष बैठकले निकालेको गुरूङले बताए ।
बैठकले पार्टीभित्रैबाट भएका अन्तर्घात, अराजकताका घटनाहरूको छानबिन तथा कारबाहीका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको गुरुङले जानकारी दिए ।
एमालेको सचिवालय बैठकले असार मसान्तभित्र सबै तहका निर्वाचन समीक्षा गरिसक्ने निर्णय गरेको छ । एमालेले सातै प्रदेश र जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
००००
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध परेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । अब सो मुद्दाको पेशी आगामी असार २६ गतेका लागि तोकिएको छ ।
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा आइतवार सुनुवाइ भएको थियो । उक्त सुनुवाइपछि अर्को पेशी तोकिएको हो ।
००००
उच्च अदालत पाटनमा शाखा अधिकृत र उपसचिवबीच आइतवार कुटाकुट भएको छ । शाखा अधिकृत हिरालाल भुसालले उपसचिव रमेश श्रेष्ठलाई कार्यकक्षमै गएर कुटपिट गरेको स्रोतले जानकारी दियो ।
००००
सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो । सन् २०१९ ६१ हजार ३५१ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । योसँगै अङ्ग्रेजी वर्षको छ महिना अवधिमा कूल दुई लाख ३७ हजार ८१३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । बोर्डका अनुसार मे महिनामा ५३ हजार ६०८ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
००००
जसपाका मधेस प्रदेश सांसद निष्काशनमा परेका छन् । गत स्थानीय चुनावमा अन्तर्घात गरेको निष्कर्ष निकाल्दै प्रदेश सांसद कौशल कुमार यादव निष्काशनमा परेका हुन् । महोत्तरी जिल्ला कार्यसम्पादन समिति बैठकले प्रदेशसभा सदस्य यादवलाई साधारण सदस्य समेत नरहने गरी कारबाहीको घोषणा गरेको हो ।
००००
नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीका पुराना नेताहरुसँग छलफल गरेका छन् । आइतबार उनले कांग्रेसका पुराना नेताहरुसँग पार्टीको पछिल्लो अवस्थाका बारेमा छलफल गरेका हुन् । छलफलमा कांग्रेस केन्द्रीय सदस्य बल बहादुर केसी, नेताहरु तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, ओमकार श्रेष्ठ, बिनयध्वज चन्द, बिपिन कोइरालालगायत सहभागी थिए ।
००००
नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक यही असार २१ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुङ्गो लगाउने, मुलुकको समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
००००
बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको आज करिब २३ लाख मात्रा नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।
००००
काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलमा मृत अवस्थामा कर्मचारी भेटिएपछि उत्पन्न भएको तनाव साम्य भएको छ । आइतबार राति स्कुल प्रशासन र मृतक रमा रायमाझीको परिवारबीच सहमति भएसँगै तनाव साम्य भएको हो । छलफलमा मृतकका परिवारलाई स्कुलले ८ लाख रुपैयाँ क्षतिपूर्ति दिने, परिवार र स्कुल प्रशासनले निश्पक्ष अनुसन्धानमा प्रहरीलाई सघाउनेलगायतका सहमति भएको हो । सो स्कुलको क्यान्टिनमा काम गर्ने रमा शनिबार साँझ होस्टलमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनको हत्या भएको दाबी गर्दै आफन्तले आइतबार दिनभर स्कुल क्षेत्रमा प्रदर्शन गरेका थिए ।
००००
प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । आइतवार बसेको प्रदेश सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । विनियोजन विधेयक पारित भएसँगै प्रदेश १ को बजेटसमेत संसदबाट पास भएको हो ।
००००
अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम अस्वीकार गर्ने मन्त्रिपरिषदको निर्णयबारे अमेरिकालाई पत्र पठाउने काम अझै नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपीपीबारे मन्त्रिपरिषद्ले गरेको निर्णय मन्त्रालयमा आएको र अध्ययन भइरहेकाले पत्र गइनसकेको बताएकी हुन् ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आइतवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिराखेको बताएकी हुन् ।