२२ जेठ २०८३, शुक्रबार

अल्पसंख्यक कोटाकी सांसदले राजीनामा दिँदा खसआर्य कोटाकी हिमा बनिन् सांसद

अल्पसंख्यक कोटाकी सांसदले राजीनामा दिँदा खसआर्य कोटाकी हिमा बनिन् सांसद

अल्पसंख्यक कोटाबाट सांसद (प्रदेशसभा सदस्य) भएकी एमालेकी गुलेफुन खातुनले राजीनामा दिएपछि खसआर्य कोटाकी हिमा बस्नेत भट्टराई प्रदेश १ की सांसद बनेकी छिन् । सरकारी कागजात कीर्ते गरेको अभियोगमा दोषी ठहरिएपछि खातुनले पदबाट राजीनामा दिएकी थिइन् । खातुनले राजीनामा दिएपछि सो पद खाली भएको थियो । 

भट्टराईलाई निर्वाचन आयोगले सोमवार पत्र दिएको एमालेका प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारीले बताए । एमालेले आयोगलाई बन्द सूचीबाट बस्नेतलाई सांसद नियुक्ति गर्न यसअघि नै पत्र पठाएको थियो ।
सोही पत्रका आधारमा भट्टराईलाई  सांसद पदमा चयन गरिएको हो । अल्पसंख्यक कोटा भएपनि बन्द सूचीमा अल्पसंख्यक कोही नभएकाले खसआर्य कोटाबाट ल्याउनु परेको सचेतक राजभण्डारीले बताए । भट्टराई अधिवक्ता हुन् । 

मोरङको तत्कालीन कदमाहा गाउँ विकास समितिमा रहेको ३ कट्ठा १० धुर जग्गाको मोही प्राप्त गर्न खातुनले कागजात, हस्ताक्षर र सरकारी छाप किर्ते गरेको अदालतले पुष्टि गरेको छ । २०७१ साल चैत महिनामा गाविस सचिवको तर्फबाट सिफारिस गरेको पत्र तयार पार्दै दुईवटा सिफारिसमा एउटै दर्ता नम्बर भेटिएपछि किर्ते गरेको भन्दै मुद्दा परेको थियो ।

सोही मुद्दामा जिल्ला अदालत मोरङले दोषी प्रमाणित गर्दै एक वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो । त्यसविरुद्ध पुनरावेदन गर्न उच्च अदालत पुगेकी खातुनको मुद्दामा उच्च अदालतले सजाय थप गरी एक वर्ष कैद र १४ हजार ५८३ रुपियाँ जरिवाना हुने फैसला गरेको थियो । 
हिमाको मंगलवार ११ बजेका लागि शपथग्रहण कार्यक्रम तय गरिएको संसद सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए । 


 

salt training

कमेन्ट गर्नुहोस्