
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसकाकारण मंगलबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। यस्तै गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
यस्तै दिउँसो देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।
राति प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।
महाशाखाले २४ घण्टाको चेतावनी जारी गर्दै भनेको छ, ‘देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।’