२१ जेठ २०८३, बिहीबार

बेलायतबाट विद्यावारिधी गरेका बस्नेतले काठमाडौं ९ बाट गरे स्वतन्त्र उम्मेदवारी घोषणा

बेलायतबाट विद्यावारिधी गरेका बस्नेतले काठमाडौं ९ बाट गरे स्वतन्त्र उम्मेदवारी घोषणा

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्रतर्फका उम्मेदवारहरूले पक्षमा सुखद नतिजा आएपछि स्वतन्त्र उम्मेदवारी घोषणाको लहर नै चलेको छ। आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभरबाट स्वतन्त्र उम्मेदवार बन्न चाहेकाहरूले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन्। 

यसैक्रममा काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभातर्फ डा. ज्ञान बस्नेतले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। बेलायतबाट कानूनमा विद्यावारिधी गरेका उनले आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन्। 

उनले संस्कारको राजनीतिको वकालत र सूत्रपातका लागि आफूले उम्मेदवार बन्ने निर्णय गरेको बताएका छन्। 

उक्त क्षेत्रबाट अघिल्लो निर्वाचन नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका ध्यानगोबिन्द रन्जितलाई पराजित गर्दै विजयी बनेका थिए। त्यस निर्वाचनमा वैकल्पिक राजनीतिको वकालत गर्दै आएका साझा विवेकशील पार्टीका तत्कालीन संयोजक मिलन पाण्डे पनि उम्मेदवार बनेका थिए। 

आगामी निर्वाचनमा पाण्डेले पुनः सोही क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरिरहेका छन्। अन्य ठूला पार्टीले पनि सो क्षेत्रमा ह्याभीवेट उम्मेदवार नै उठाउने संभावना छ। 

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएका थिए। त्यस्तै धरानमा हर्क साम्पाङ, नेपालगन्जमा गोपाल हमाललगायत विजयी भएपछि देशभर स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने लहर नै चलेको छ ।

हालै स्वतन्त्र उम्मेदवार अभियन्ताहरूले काठमाडौंमा विशेष भेला आयोजना गरेका थिए भने, सञ्चारकर्म छाडेर रबि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी नामको दल निर्वाचन आयोगमा दर्ता भइसकेकाे छ।

salt training

कमेन्ट गर्नुहोस्