
अफगानिस्तानका विभिन्न प्रान्तको प्रहरी सेवामा स्नातक गरेका नयाँ युवाले सेवा सुरु गरेका छन् । अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो पटक एक हजार नयाँ स्नातक प्रहरी सेवामा प्रवेश गरेका हुन् ।
ती मध्ये ४०० प्रहरीले पाक्तीया प्रहरी प्रतिष्ठानमा प्रशिक्षण लिएका छन् । त्यसैगरी कान्दहर प्रान्तमा ६०० जनालाई प्रशिक्षण दिइएको छ ।
अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले उनीहरूलाई कानुनको कार्यान्वयनका लागि विभिन्न प्रान्तहरूमा खटाइएको जनाएको छ ।
उनीहरूले लागू औषध दुरुपयोग नियन्त्रण गर्नेदेखि बालबालिकाको अपहरणलगायतका अपराध नियन्त्रण गर्नेसम्मका काममा योगदान गर्ने मन्त्रालयको भनाई छ ।
प्रहरी शक्तिलाई बलियो बनाउने तालिवान सरकारको रणनीति अनुसार उनीहरूलाई प्रशिक्षित गरेर सेवामा प्रवेश गराइएको उच्च अधिकारीहरूले जनाएका छन् ।