
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । मंगलबार स्थगित भएको बुधबार दिउँसो १ बजेका लागि तय भएको बैठकलाई महत्वका साथ हेरिएको छ । माओवादी केन्द्रभित्र पेचिलो बनेको पदाधिकारी चयनको विषयमा आजको बैठकमा छलफल हुने अपेक्षा गरिएको छ। केन्द्रीय समिति बैठकमा पदाधिकारी चयन तत्काल गरिनुपर्ने भन्दै सदस्यहरुले दवाव दिएपछि प्रचण्डले मंगलबारको बैठक स्थगित गरेर आन्तरिक छलफल गरेका थिए ।
खुमलटास्थित प्रचण्ड निवासमा भएको पूर्वस्थायी समितिको बैठकले पदाधिकारी चयनका लागि निर्णय लिने जिम्मेवारी अध्यक्षलाई दिएको थियो । सो अनुसार उनले आकांक्षीहरुसँग छलफल गरेर आजको बैठकमा पदाधिकारीमा रहनेहरुको नाम प्रस्ताव गर्ने बताइएको छ ।
नेता गिरिराजमणि पोखरेलले प्रचण्डलाई पदाधिकारीको टुंगो लगाउन जिम्मेवारी दिइएको भन्दै सोहीअनुसार उनले टुंगो लगाएर केन्द्रीय कमिटीमा पेश गर्ने बताए । प्रचण्डलाई पदाधिकारीसहित स्थायी कमिटी र पोलिटब्युरो टुंग्याउन पनि जिम्मेवारी दिइएको छ ।
माओवादीको गत पुसमा सम्पन्न राष्ट्रिय सम्मेलनले पदाधिकारी चयन गर्न नसकेपछि पहिलो केन्द्रीय समितिले टुंगो लगाउने भनिएको थियो । तर महाधिवेशनको ६ महिना बितिसक्दा पनि टुंगिन सकेको छैन । अध्यक्ष प्रचण्ड अब चुनावपछि पदाधिकारी टुंग्याउने पक्षमा भएपनि केन्द्रीय समितिमा चर्को आवाज उठेपछि दवावमा परेका हुन् ।
माओवादी पदाधिकारीमा विशेषगरी महासचिव को बन्ने भन्नेमा विवाद छ । प्रचण्डका विश्वासपात्र मानिने वर्षमान पुन र जनार्दन शर्माले महासचिवको दाबेदारी नछाड्दा समस्या देखिएको नेताहरु बताउँछछन् । यस्तै वरिष्ठ उपाध्यक्षमा नारायणकाजीसहित मातृका यादव र कृष्णबहादुर महराले दाबी गरेका छन् । सबै सन्तुलन मिलाएर प्रचण्डले बैठकमा पेश गरेपछि छलफल गरेर निर्णय हुने एक नेताले विश्वास गरे ।
माओवादीले सहमतिमै पदाधिकारी चयनमा जोड दिँदै आएको छ ।
माओवादीको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु भएको हो । बैठकमा अध्यक्ष प्रचण्डले संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका छन् भने सो प्रतिवेदनमा सोमबार ४६ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए ।
सदस्यहरुले उठाएको धारणामाथि प्रचण्डले आज जवाफ दिने कार्यक्रम समेत रहेको छ । साथै, आइतबार तय भएको ९ एजेन्डामध्ये बाँकी एजेण्डामा पनि क्रमशः छलफल गरेर बैठक टुंग्याउने तयारी छ।