०८ असार २०८३, सोमबार

एनसेलको सामाजिक पहल 'रिङरोड ग्रीन बेल्ट'को उद्घाटन

एनसेलको सामाजिक पहल 'रिङरोड ग्रीन बेल्ट'को उद्घाटन

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत काठमाडौंको कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको 'रिङरोड ग्रीन बेल्ट'को उद्घाटन गरेको छ । 

एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वरदेखि कलंकी सडक खण्डमा हरियाली विकास, निमार्ण तथा संरक्षण गर्दै आएको छ । 

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र के.सी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले संयुक्त रुपमा एक कार्यक्रमाझ मंगलवार उक्त ग्रीन बेल्ट उद्घाटन गरेका छन् ।

एनसेलले यस सामाजिक पहल अन्तर्गत कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्यान्डस्केपिङ सहित हरियाली निर्माणको सकाएर हाल यस क्षेत्रको संरक्षणको काम गरिहेको छ ।

यो परियोजना हरियाली विकासको एक उदाहरणीय काम बनेको छ र यसले रिङरोड सडक खण्डमा सफा र हरियालीलाई प्रवर्द्धन गरेको छ ।

यस कार्यक्रम अन्तर्गत रहि एनसेलले ल्यान्डस्केपिङ सहित हरियाली निर्माण र संरक्षण बाहेक कोटेश्वर देखि कलंकी सडक खण्डमा वृक्षारोणमा पनि योगदान पुर्‍याएको छ ।

यस किसिमको हरियाली विकास तथा संरक्षणले वातावरण संरक्षणमा योगदान पुर्याउनुका साथै समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुर्याउने भएकोले एनसेलले सन् २०२४ सम्म यस ग्रीन बेल्टको संरक्षण गर्ने छ । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले भने, 'दीगो विकास लक्ष्यसँग जोडिएको सरकारको वातावरण सम्बन्धी लक्ष्य र हाम्रो आजियाटा समूहको नेट जिरो कार्बनको आकांक्षा अनुरूप समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान गर्न पाउँदा हामी खुसी छौं । हामी वन तथा भू–संरक्षण विभाग, ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिका, सम्बन्धित वडाहरू र अन्य सरोकारवालाहरूप्रति आभारी छौं । यो परियोजना सार्वजनिक—निजी साझेदारीको उत्कृष्ट उदाहरण हो र यसले हामी कसरी यस्ता परियोजनाहरू सामूहिक रूपमा साकार पार्न सक्छौँ भनी प्रष्टाएको छ ।'

वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसीले भने, 'यस क्षेत्रका ९० प्रतिशत बोटबिरुवालाई जीवितै राख्ने हाम्रो प्रतिबद्धता रहेको थियो । केही प्रतिस्थापन गरेर शत प्रतिशत बोटबिरुवा जीवित राख्न सक्नु ठूलो उपलब्धि हो । रिङरोडको ग्रीनबेल्ट क्षेत्रमा ल्यान्डस्केपिङ, हरियाली प्रवर्द्धन र सौन्दर्यीकरणमा निजी र सार्वजनिक सहकार्यको उत्तम उदाहरण प्रस्तुत गरेकोमा हामी एनसेललाई धन्यवाद दिन चाहन्छौं । भविष्यमा यस्ता सहकार्यका लागि अन्य धेरै क्षेत्रहरू छन् ।'

यस परियोजनाको बारेमा आफ्नो उत्साह साट्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भने, 'हामीले सम्पन्न गरेका सुन्दर परियोजनामध्ये यो एउटा हो त्यसैले म ललितपुर महानगरपालिकाको तर्फबाट एनसेललाई धन्यवाद दिन चाहन्छु । ललितपुरलाई स्मार्ट सिटीमा परिणत गर्ने हाम्रो भिजन अन्तर्गत चारवटा रुटमा स्मार्ट स्ट्रिट लाइट जडान गर्ने कार्य सम्पन्न गरी शहरमा १४०० वटा बत्ती जडान गर्ने काम गरिरहेका छौं । अर्को चरण भनेको ललितपुरभित्र पर्ने रिङरोडको ७.९ किलोमिटर क्षेत्रमा स्मार्ट बत्ती जडान गर्ने हो ।'

एक जिम्मेवार कर्पोरेट नागरीकको रुपमा एनसेलले दीगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गत शिक्षा तथा स्वास्थ्यका साथसाथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन) अन्तर्गतका पहलहरुलाई पनि प्राथमिकतामा राख्दै सामाजिक कार्यहरु गर्दै आएको कम्पनीले उल्लेख गरेको छ । 

औद्योगिक व्यावसायिक नियमावलीले पनि व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणलाई एक प्रमुख क्षेत्रको रुपमा राखेको छ । 

एनसेलले आफ्नो सामाजिक पहल अन्तर्गत स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनमा सहयोगलगायत क्षेत्रमा १.६५ अर्ब रुपैयाँभन्दा बढीको योगदान गर्दै सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्‍याएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्