
नेपाली काँग्रेसले प्रदेश १ को नाम ‘सप्तकोसी’ अगाडि सारेको छ । शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रदेशसभाका दलहरूबीच भएको सर्वदलीय बैठकमा कुनै नाम अगाडि नबढाएको काँग्रेसले शनिवार भने प्रमुख सचेतक सुर्याेमाराज राईमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो ।
शुक्रवारको बैठकपछि राईले अन्य दलहरूले ल्याएको नाममा नै सहमति जनाउन सकिने बताएका थिए । नामकरणको विषयमा मौन रहेको भनेर चौतर्फी दबाब बढेपछि काँग्रेसले नयाँ नाम प्रस्ताव गरेको हो । काँग्रेसले नयाँ नाम ल्याएसँगै प्रदेश १ मा तीन दल भौगोलिक पहिचानमा देखिएका छन् । एमालेले भने कोसी प्रदेशको नाम अगाडि सारेको छ । राप्रपाले सगरमाथा प्रदेशको नाम अगाडि सारेको छ ।
नेकपा माओवादी केन्द्र जातीय पहिचानको पक्षमा उभिएको छ भने नेकपा एकीकृत समाजवादी बहुपहिचानको पक्षमा देखिएको छ । माओवादी केन्द्रले किरात प्रदेश नाम राख्न लबिङ गरिरहेको छ । मुख्यमन्त्री राजेन्द्र कुमार राई भने कोसी किरात, सगरमाथा किरातका पक्षमा छन् । यस्तै राष्ट्रिय लोकतान्त्रिक पाटी भने लिम्बुवानको पक्षमा रहेको छ ।