
बुटवलको एक होटेलमा किशोरी मृत अवस्थामा फेला परेकी छन् ।
बुटवल उपमहानगरपालिका–३, गोलपार्कस्थित होटल गोलपार्कको कोठामा किशोरी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शुक्रवार राति १० बजेतिर एक युवकको साथमा होटलमा पुगेकी बुटवल–२ की १७ वर्षीया सदीक्षा गुरुङ शनिवार मध्याह्न मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले जानकारी दिए ।
किशोरीसँग होटलमा पुगेका युवक भने शनिवार बिहान ९ बजेतिर होटलको बिल भुक्तानी गरेर बाहिरिएको खुलेको छ । पछि होटल सञ्चालक कोठामा जाँदा किशोरी झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
किशोरीसँगै बसेका युवकको पहिचान हुन सकेको छैन । किशोरीको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।
किशोरी आफैं आएर कोठा बुक गरेको र कोठामा केही प्रमाण नभेटिएकाले फरार भएका युवकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी केसीले बताए ।