नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको छुट्टै बैठक शुरू भएको छ । डा. कोइराला पक्षको बैठक विशालनगरस्थित कोइरालाको सचिवालयमा शुरू भएको हो ।
सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक आह्वान गरेपछि डा. कोइराला पक्षको छुट्टै बैठक बसेको नेता गुरुराज घिमिरेले जानकारी दिए ।
उनका अनुसार डा. कोइराला पक्षको बैठकमा सभापति देउवाले बोलाएको पदाधिकारी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल केन्द्रित छ ।
सोमवारदेखि कांग्रेसको केन्द्रीय समिति बैठक पनि बस्दैछ । केन्द्रीय बैठकका विषयमा आफू पक्षीय रणनीति तयार गर्न छुट्टै बैठक बस्न लागेको उनले बताए । ‘सभापतिजीले विधानको उल्लघंन गरिरहनु भएको छ, यस्तो अवस्थामा कसरी बैठकमा प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो’ उनले भने ।
सभापति देउवा विधानअनुसार नचलेकाले डा. कोइराला पक्षको आरोप छ । यसअघि उनी पक्षीय नेताहरूले छुट्टै बैठक राखेर पार्टीलाई विधानअनुसार सञ्चालन गर्नुपर्ने आवाज उठाएका थिए । विधानअनुसार ६ महिनाभित्र पार्टीको विभागहरू गठन गर्नुपर्ने, भ्रातृ संगठनहरूलाई चलायमान बनाउनुपर्ने लगायत माग कोइराला पक्षको छ ।