जर्मनीका चान्सलर ओलाफ शोल्ज महिलामाथिको यौन दुर्व्यवहारको आरोपमा मुछिएका छन् ।
जर्मनीका दुई सञ्चारमाध्यम टागेसस्पीगल र डोयचवलले कम्तीमा आठजना महिला यौन आक्रमणको शिकार भएको खबर दिएका छन् । शोल्जको सोसल डेमोक्रेटिक पार्टी (एसपीडी)को एक खेमाले आयोजना गरेको पार्टीमा ती महिलाहरूलाई लठ्याउने पदार्थ खुवाएर बलात्कार गरिएको आरोप छ ।
‘उक्त पार्टीमा दलका सदस्य र संसद्का कर्मचारीहरू उपस्थित थिए,’ टागेसस्पीगलले लेख्यो, ‘त्यहाँ चान्सलर शोल्ज पनि पुगेका थिए ।’
पत्रिकाका अनुसार, पार्टी सकिएपछि एसपीडी संसदीय समूहका नेता माथियास मार्टिनले पार्टीका सदस्यहरूलाई पत्र लेखे । त्यसमा उल्लेख भएअनुसार, ‘ग्रीष्मकालीन पार्टीमा हाम्रा सहकर्मीहरूमाथि आक्रमण भएका छन् । यो निन्दनीय घटना हो र संसदीय प्रहरीलाई यसको खबर गरिएको छ ।’
बर्लिन प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।