दक्षिण अफ्रिकाको जोहानेसवर्ग नजिकै रहेको सोवेतो शहरको एउटा बारमा कम्तीमा १५ जनाको गोली हानी हत्या गरिएको छ ।
स्थानीय प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार बन्दुकधारीहरूले आइतबार बिहान ‘ओर्लान्डो ईस्ट टेभर्न’ बारमा प्रवेश गरेर युवाहरूको समूहमाथि अन्धाधुन्ध गोली चलाएका थिए । त्यसपछि आक्रमणकारीहरु सेतो मिनीबसमा भागेका थिए ।
आक्रमणको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
गोली लागि अरु केही युवाहरू घाइते भएका छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको उमेर १९ देखि ३५ वर्ष बीचको रहेको गौतेङ प्रान्तका प्रहरी प्रमुख लेफ्टिनेन्ट जनरल इलियास मावेलालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
प्रहरीले संदिग्धहरूको खोजी गरिरहेको छ । अहिलेसम्म आक्रमणकारीहरुको पहिचान खुल्न सकेको छैन ।