३० जेठ २०८३, शनिबार

हावाहुरी र वर्षाले मकैबालीमा क्षति, चिन्तामा किसान

हावाहुरी र वर्षाले मकैबालीमा क्षति, चिन्तामा किसान
प्रतिनिधिमूलक तस्वीर।

केही दिनदेखि भइरहेको वर्षा र हावाहुरीले बैतडीका विभिन्न स्थानमा मकैबाली क्षति पुर्‍याएको छ ।

जिल्लाको सुर्नया, दोगडाकेदार गाउँपालिका, पुर्चौडी नगरपालिकाका विभिन्न स्थानमा वर्षा र हावाहुरीले क्षति पुर्‍याएको हो ।

घोगा लाग्ने बेलाको मकैबालीमा क्षति पुगेको किसानले बताएका छन् । दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा वर्षा र हावाहुरीले मकैबाली क्षति पुर्‍याइएको स्थानीय हरिश जोशीले जानकारी दिए । 

वर्षा र हावाहुरीले मकै भाँचिएपछि भोकमरी नै हुने हो कि भन्ने चिन्तामा यहाँका किसान परेका छन् ।

जिल्लाको पुर्चौंडी नगरपालिकाका विभिन्न स्थानमा मकैबालीमा क्षति पुगेको किसानले बताएका छन् । नगरपालिकाका वडा नं १ र ७ मा हावाहुरीसहितको वर्षाले मकैबालीमा व्यापक क्षति पुर्‍याइएको स्थानीय जनक ऐरले बताए । 

मकैबाली ढलेर नष्ट भएपछि आफूलाई निकै समस्या भएको सुर्नयाका स्थानीय किसान नरेन्द्र विष्टले बताए ।

बैतडी मकै जोन क्षेत्र भए पनि विभिन्न कारणले मकैबालीमा क्षति हुँदै आएको छ । मकैबालीमा फौजीकीरा, विभिन्न जङ्गली जनावर, विभिन्न प्रकोपले मकैबालीमा क्षति पुग्दै आएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

बैतडीमा १४ हजार ५०० हेक्टर क्षेत्रफल जमीनमा मकै खेती गरिँदै आएको भए पनि विभिन्न कारणले मकैबालीमा क्षति हुने गरेको छ ।

मकै उत्पादनका हिसाबले जिल्लामा राम्रो उत्पादन हुने गरेकोमा विभिन्न कारणले उत्पादनमा ह्रास आउने गरेको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दले बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्