२८ जेठ २०८३, बिहीबार

संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता हुन्छः गगन थापा

संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता हुन्छः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले राष्ट्रियसभामा पेस गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुने बताएका छन् । उक्त विधेयक आज-भोलि मै फिर्ता हुने उनको दाबी छ । 

नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर २ प्रदेश सभा (क) ले सोमवार आयोजना गरेको भेलालाई सम्बोधन गर्ने क्रममा उनले उक्त विधेयकको सबैतिरबाट आलोचना भएकाले फिर्ता गरिन लागेको जानकारी दिएका हुन् । 

उनले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले भेटेर उक्त विधेयक फिर्ता लिन आफूहरूले आग्रह गरेको जानकारी दिए । भेटका क्रममा सभापति देउवाले आफूहरूलाई उक्त विधेयक तत्कालै फिर्ता लिने विश्वस्त पारेको उनको भनाइ थियो । ‘पार्टीका पदाधिकारीहरूले दिएको सुझावलाई सभापतिजीले गम्भीरतापूर्वक लिनु भएको छ । आज भोलिमा नै त्यो विधेयक फिर्ता होला,’ उनले भने ।   

पूर्ववर्ती सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याउँदा तत्कालीन समयमा प्रमुख प्रतिपक्ष कांग्रेसले विरोध गरेको स्मरण गर्दै थापाले हिजो गलत भनिएको कुरा आज पनि गलत नै भएको जिकिर गरे ।  

प्रधानमन्त्री देउवाले गत बुधबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभामा पेश गरेका थिए । 

विधेयकमा ऐनको दफा ६ को उपदफा ३ मा अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्य उपस्थित भएमा परिषदको बैठकको लागि गणपूरक संख्या पुगेको मानिने उल्लेख  छ । 

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पनि पदमा बहाल पदाधिकारीमध्ये बहुमत पुग्ने पदाधिकारी उपस्थित भए गणपूरक संख्या मानिने व्यवस्था राखेर विधेयक पेश गरेको थियो । उक्त विधेयकविरुद्ध सभामुख अग्निप्रसाद सापकोटा रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । सो सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ । 

संविधानमा प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलको नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने प्रावधान छ । हाल उपसभामुख पद रिक्त छ । 
 

salt training

कमेन्ट गर्नुहोस्