भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई अब स्थानीय उपहार प्रदान गरिने भएको छ । स्थानीय समुदायले पर्यटक लक्षित उपहार उत्पादन गरेर बिक्री वितरण गर्ने भएका हुन् ।
स्थानीयले बुद्ध कला, साहित्य र संस्कृति झल्किने उपहारका सामग्री उत्पादन गरेर पर्यटकलाई दिने तयारी गरेका हुन् । त्यसको आर्थिक तथा प्राविधिक सहयोग प्रदेश सरकार र पर्यटन व्यवसायीले गर्ने छन् । यसरी उत्पादन हुने उपहार पर्यटकलाई बिक्री वितरण गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाले जनाएको छ ।
लुम्बिनीमा बिक्री वितरण हुने बुद्धसँग सम्बन्धित सामग्री स्थानीय उत्पादन भएपछि आर्थिक र सामाजिक रूपमा लुम्बिनीवासी मजबुद हुने लुम्बिनी सांस्कृति नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले बताए ।
स्थानीय बासिन्दाले पवित्र लुम्बिनीको माटो–पानी प्रयोग गरेर उपहार सामग्री बनाउन सुरु गरेका छन् । यसले लुम्बिनीको प्रचार हुने छ । लुम्बिनी प्रदेश सरकारको सहयोग र लुम्बिनी होटल संघको सहकार्यमा बुद्ध जन्मस्थलको माटो र पानी प्रयोग गरेर विभिन्न उपहार सामग्री बनाउन सिकाइको छ ।
पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशअन्तर्गत रहेको पर्यटन डिभिजन कार्यालय रुपन्देहीले स्थानीयवासीलाई सो तालिम दिएपछि बुद्ध उपहार उत्पादनमा सम्भव देखिएको लुम्बिनी विकास कोषले जनाएको छ ।
संसारभर लुम्बिनीकोे माटो र पानी प्रयोग गरेर बनाइएका उपहार सामग्रीले बढी महत्व राख्ने भएकाले सीप सिकाइएको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । लुम्बिनीको माटो र पानीलाई आकार दिएर विभिन्न सिर्जना गर्ने ज्ञवालीले जानकारी दिइन् । त्यसका लागि काठमाडौंलगायत स्थानबाट दक्ष कालीगढ ल्याएर उपहार निर्माण गर्न सिकाइएको हो । यो सीपसँगै लुम्बिनीका स्थानीयवासीले पनि स्वारोजगार हुने अवसर प्राप्त गरेको नगरपालिकाले जनाएको छ । रासस