०७ साउन २०८३, बिहीबार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुरू

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुरू

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमवार सानेपामा शुरू भएको छ । बैठकमा स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा, समसामयिक राजनीतिक, गठबन्धनलगायतका विषयमा छलफल हुनेछ । 

केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि आइतवार कांग्रेस पदाधिकारी बैठक बसेको थियो । 

बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानलाई अन्तिम रुप दिई स्वीकृत गरेर केन्द्रीय समिति बैठकमा पेश गर्ने निर्णय गरेको थियो । यस्तै आदिवासी जनजाति महासंघ, थारू सङ्घलाई भ्रातृ संस्थाको मान्यता दिँदै विधानलाई अन्तिम रूप दिई स्वीकृत पनि गरेको थियो । 

यस्तै शुभेच्छुक संस्थाका रुपमा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य सङ्घ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय सङ्घलाई शुभेच्छुक संस्थाका रुपमा मान्यता दिने निर्णय गरिएको थियो । 

यसअघि पार्टीका भ्रातृ संगठन र विभागलाई पूर्णता दिन माग गर्दै नेपाली कांग्रेसका युवा कार्यकर्ताले पार्टी कार्यालय बाहिर नाराबाजी गरेका थिए । 

महाधिवेशन सम्पन्न भएको ६ महिनासम्म कांग्रेसले विभाग गठन गर्न सकेको छैन । केही गठन गरिए पनि तिनीहरूले पूर्णता पाउन सकेका छैनन् ।

कमेन्ट गर्नुहोस्