१४ असार २०८३, आइतबार

पुटिनलाई राष्ट्रपति नभई ‘हाम्रा शासक’ भन्न रुसको सानो दलको आह्वान

असार २७, २०७९
पुटिनलाई राष्ट्रपति नभई ‘हाम्रा शासक’ भन्न रुसको सानो दलको आह्वान

रुसको सानो दल लिबरल डेमोक्रेटिक पार्टीले भ्लादिमिर पुटिनलाई राष्ट्रपति नभई शासक भनी सम्बोधन गर्न देशवासीलाई आह्वान गरेको छ । 

पुटिनको हैसियत र भूमिकाका लागि प्राभितेल वा शासक शब्द बढी उपयुक्त हुने उक्त दलको तर्क छ । 

संसद््को कुल ४५० सीटमध्ये उक्त दक्षिणपन्थी दलको २२ सीट छ । क्रेमलिनले आफ्ना क्रान्तिकारी विचार प्रस्ताव गर्न तथा तिनको लोकप्रियताको प्रमाण जुटाउन यस दललाई उपयोग गर्ने गर्छ ।

रुसमाथि पश्चिमले प्रतिबन्ध लगाएकाले अहिले रुसमा पश्चिमका उत्पादन, ब्रान्ड र नामहरूको विकल्प खोजिँदैछ । 

लिबरल पार्टीले राष्ट्रपति भन्ने पदवी अमेरिकाले १८औं शताब्दीमा बनाएको तर्क गर्दै त्यसको साटो प्राभितेल शब्द उपयुक्त रहेको बताएको छ । 

तर यो शब्दले निरंकुश शासकको झल्को दिने विपक्षीहरूको आरोप छ । अहिले नै पुटिनले जारको जस्तो निरंकुश शासन चलाइरहेको उनीहरू दाबी गर्छन् । 

प्राभितेल शब्दको रुसमा गहिरो र ऐतिहासिक महत्त्व छ । जारका रूपमा सन् १६१३ देखि १९१७ सम्म शासन चलाएको रोमानोभ परिवारले आफूलाई प्राभितेल भन्ने गर्थ्यो । 

सोभियत संघको पतन हुने बेलामा राष्ट्रपति शब्द प्रचलनमा ल्याइयो । मिखाइल गोर्भाचभलाई राष्ट्रपतिका रूपमा चिनाउने गरिएको थियो ।

सोभियत संघमा नेताहरूलाई कम्युनिस्ट पार्टीका अध्यक्ष वा महासचिव भनी चिनिन्थ्यो । 
 

salt training

कमेन्ट गर्नुहोस्