
गत आइतवार रुपन्देहीको कञ्चन गाउँपालिका ४ वनकसियामा एक वृद्धले लगाएको सुनको सिक्री लुटियो । आइतबारे बजारमा टमाटर किन्न गएकी सोही ठाउँ बस्ने ७० वर्षीया वृद्धाको ३ तोला ४० लालको सिक्री लुटिएको थियो ।
लुटेराहरू वयस्क थिएनन् । २ नाबालकले वृद्धाले लगाएको सिक्री लुटेर भागेका थिए । यो घटनाले प्रहरीलाई चकित बनायो । त्यसपछि इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले आवश्यक अनुसन्धान थाल्यो ।
लुटेराको खोजी गर्ने क्रममा सोमवार कञ्चन गाउँपालिका–४ बनकसिया डिहोमा लुकिछिपी हिँडिरहेका दुई बालकसहित पर्सा पटेर्वा सुगौली घर भई रुपन्देही कञ्चन गाउँपालिका–४ हर्नाचौर बस्दै आएका ३६ वर्षीय विजय रायनट पक्राउ परे । पक्राउ परेका एक बालक ११ वर्षका र अर्का बालक १२ वर्षका थिए । उनीहरूको साथबाट लुटिएको सिक्री पनि बरामद भयो ।
केन्द्रीय प्रहरी समाचार कक्षबाट प्राप्त विवरणअनुसार विजयले ती दुई बालकलाई लामो समय तालिम दिएर सिक्री लुट्न पठाएका थिए । प्रारम्भिक अनुसन्धानको क्रममा विजयले करिब एक महिनासम्म आफ्नै गाउँका ती दुई बालकलाई रुपन्देही हर्नाचौरमा बोलाई सुनको सिक्री कसरी चोर्ने र कसरी भाग्ने भन्ने तालिम दिएका थिए ।
तालिम दिएपछि उनले ती दुई बालकलाई भिडभाड भएको स्थानमा विभिन्न धनमाल लुट्न पठाउने गरेका थिए । त्यसअघि पनि उनीहरूले अन्य व्यक्तिहरूलाई लुटपाट गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले उनीहरूविरुद्ध चोरीसम्बन्धी कसूरमा म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको बताएको छ ।