२८ जेठ २०८३, बिहीबार

मोरङ कारागारमा ज्वरोको प्रकोपः एक जना कैदीको मृत्यु, १८ जना अस्पताल भर्ना

मोरङ कारागारमा ज्वरोको प्रकोपः एक जना कैदीको मृत्यु, १८ जना अस्पताल भर्ना

जिल्ला कारागार मोरङमा ज्वरोका विरामी एक कैदीको मृत्यु भएको छ । कारागारभित्र प्रकोपको रूपमा फैलिएको ज्वरोका कारण मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय नीरबहादुर नेपालको मृत्यु भएको हो । ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर भएपछि कैद सजाय भुक्तान गरिरहेका नेपालको ज्वरोकै कारण मृत्यु भएको कारागार प्रशासनले जनाएकाे छ । अत्याधिक ज्वरो आएपछि उपचारका लागि बिहीवार कोशी अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा मृत्यु भएको थियाे। 

विराटनगर महानगरपालिका–८ हाटखोलामा रहेको कारागारमा केही दिन यता ज्वरोको प्रकोप बढेको छ । एक साताअघि देखिएको ज्वरोले अहिले प्रकोपको रूप लिएको निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए । ज्वरोको प्रकोप फैलिएपछि क्षमताभन्दा बढी कैन्दी–बन्दी राखिएको कारागारको अवस्था अस्तव्यस्त बनेको छ ।

ज्वरोको प्रकोप फैलिएपछि कैदी बन्दीको उपचार र व्यवस्थापनमा समस्या हुन थालेको निमित्त जेलर भगतले बताए । 

ज्वरोले बिरामी परेका १८ जनालाई उपचारका लागि बिहीवार कोशी अस्पताल भर्ना गरिएको कारागार प्रशासनले जनाएको छ । अस्पताल भर्ना गरिएकाहरुलाई १०० डिग्रीभन्दामाथि ज्वरो रहेको छ । निमित्त जेलर भगतका अनुसार कारागारभित्र सामान्य ज्वरो आउनेको संख्या पनि धेरै छ । 

महिला र पुरुष गरेर मोरङ कारागार तीन सय जना क्षमताको मात्रै छ । तर, अहिले कारागारभित्र एक हजार ८७ जना कैदी बन्दी रहेको निमित्त जेलर भगतले बताए । 

ज्वरोको प्रकोप फैलिएपछि कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले बिहीवार साँझ कारागार पुगेर त्यहाँको अवस्थाका बारेमा जानकारी लिएका थिए । सामान्य ज्वरो आउने कैदी बन्दीको संख्या धेरै रहेको र गर्मी बढेकाले भाइरलको समस्या देखिएको हुनसक्ने डा. खरेलले बताए । 

salt training

कमेन्ट गर्नुहोस्