प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद पवित्रा निरौला खरेलले सरकारले हतियार खरिद गर्न लागेको बारे संसदमा प्रधानमन्त्रीको जवाफ माग गरेकी छन् । बिहीवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै बोलेकी खरेलले हतियार खरिदबारे प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन् ।
‘संसदमा धेरै दिनदेखि हतियार खरिदका लागि ठूलो रकम रकमान्तर गरेर छुटाइएको कुरा उठिरहेको छ, चीन र भारतबाट हतियार ल्याउन तालमेल गरिरहेको कुरा आएको छ’ प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति समेत रहेकी खरेलले भनिन्, ‘संसदमा धेरै कुरा उठेपछि प्रधानमन्त्रीले बाहिर कुनै कोठामा हतियार किनिन्न भनेको कुरा सुन्न आएको छ । सम्मानित संसदमा यो कुरा किन भन्न सक्नुहुन्न ?’
देश आर्थिक संटकमा परेको बेला सरकारले नेपाल प्रहरीको लागि हतियार खरिद गर्न लागेको भन्दै विरोध भइरहेको छ । कमिसन लोभमा सरकारले बद्नाम कम्पनीबाट हतियार खरिद गर्न लागेको आरोप प्रतिपक्षले लगाउँदै आएको छ ।